मकवानपुर/ “लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति, समाज र सबैको ऐक्यवद्धता” भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान २०२० बुधबारबाट सुरु भएको छ ।
अभियानको सुरुवात गर्दै मकवानपुरका अधिकारकर्मीहरुले लैङ्गिकताको आधारमा कुनै पनि हिंसा स्वीकार्य नहुने बताएका छन् । लैङ्गिक हिंसाको विरुद्ध आफूहरु सधैं लागि परिरहदा पनि हिंसाका डरलाग्दो रुप देखिने क्रम बढीरहेको प्रति अधिकारकर्मीहरुले दुख व्यक्त गरेका छन् । “कुनै पनि लाभको आशा नराखि वर्षैभरी हामी अधिकारकर्मीहरु खटिरहेका छौं, तर जघन्य प्रकारको हिंसाका घटनाहरु भैरहेका छन्, हामी त्यसको घोर निन्दा गर्दछौ” जिल्ला समन्वय समिति मकवानपुर उपप्रमुख भगवती पुडासैनीले भनिन् ।
अभियानको पहिलो दिन स्कुटर / मोटरसाइकल -यालीपछि आयोजित दीप प्रज्वलन कार्यक्रममा उनले यस्तो बताएकी हुन् । जिल्ला समन्वय समिति मकवानपुर, हेटौंडा उपमहानगरपालिका, अन्तरपाटी महिला सञ्जाल मकवानपुरको समन्वय तथा मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको संजाल समूह मकवानपुरको आयोजनामा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा संजाल समूह संयोजक आरती पाठकले हिंसात्मक घटनाहरु हुँदा स्थानीय तहहरु जिम्मेवारी वहनमा कमजोर देखिएको बताइन् । विशेषगरी बालिका तथा महिलामाथि भएको जघन्य प्रकारको हिंसाको पीडामा परेकाहरुलाई अभिभावकत्व ग्रहण गर्न स्थानीय तहहरु लागि नपरेको उनले बताइन् ।
हेटौंडा–४ हुप्रा चौरबाट सुरु भएको -याली बुद्धचोकमा दीपावली गरेर समापन गरिएको थियो । यसैगरी अभियानको पहिलो दिनमा नै हेटौंडा पमहानगरपालिकाको आयोजनामा हेटौंडा–४ सुस्मिता चोकमा पनि दीपावली गरिएको हाे ।

केही महिना अगाडि घरेलु हिंसापछि हत्या गरिएकी सुस्मिता थापाको आत्माको चिर शान्तिको कामना तथा स्मरणमा दीपावली गरिएको हेटौंडा उपमहानगरपालिका उपप्रमुख मिनाकुमारी लामाले बताइन् । लैङ्गिकताको आधारमा हुने सबै प्रकारको हिंसाको विरुद्ध लड्न आफूहरु सधैं तत्पार रहेको उपप्रमुख लामाले बताइन् । “हिंसाको विरुद्धमा कानूनी बाटोमा हामी सधैं एक छौ” लामाले भनिन् ।

अभियानको पहिलो दिन लैङ्गिक हिंसा विरुद्धको प्रतिक सेतो रिवन पनि विरतण गरिएको थियो । यस्तै अभियान बारे सचेतना प्रचारप्रसार गर्ने उद्देश्यले तयार पारिएको स्टिकर समेत वितरण गरिएको थियोे । ‘म हिंसा गर्दिन, म हिंसा सहन्न, म हिंसाको प्रतिकार गर्छु’ भन्ने सन्देश छापिएको स्टिकरहरु निजी तथा सार्वजनिक सवारी साधन, सरकारी तथा गैरसरकारी कार्यालयहरुमा वितरण गरिएको हेटौंडा उपमहानगरपालिका महिला विकास अधिकृत विष्णुकुमारी लामिछानेले बताइन् ।



