मकवानपुर / लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम आयोजना गरेर मनाईने तयारी गरिएको छ ।
हरेक वर्ष २५ नोभेम्बरबाट १० डिसेम्बरसम्म १६ दिन मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको तयारी सम्बन्धमा आज आइतबार जिल्ला समन्वय समिति र हेटौंडा उपमहानगरपालिकामा सरोकारवालाहरुको बैठकले विभिन्न निर्णय गरेको छ ।
आइतबार जिल्ला समन्वय समिति मकवानपुरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने सन्दर्भमा बसेको बैठकमा जिल्लाका स्थानीय तहहरु र सरोकारवाला संघ संस्थाको सहभागितामा विभिन्न कार्यक्रम गर्ने तयारी गरिएको हो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले जिल्ला स्तरीय र स्थानीयतह स्तरमा विभिन्न कार्यक्रमको आयोजना गरेर दिवस मनाउने निर्णय गरेको छ । बैठकले प्रत्येक स्थानीयतहहरुमा सामाजिक दुरी कायम गरेर कम्तिमा एउटा कार्यक्रम सञ्चालन गर्ने र उक्त कार्यक्रममा सामाजिक संघ संस्थाहरुले सहभागिता जनाउने निर्णय गरेको जिसस प्रमुख खुलालले जानकारी दिए ।
“लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति, समाज र सबैको ऐक्यवद्धता” भन्ने नाराका साथ यस वर्ष मनाउन लागिएको १६ दिने अभियानमा पहिलो दिन नोभेम्वर २५ तारिकमा जिल्ला स्तरिय स्कुटर -याली, सेतो रिवन वितरण एवम् दीप प्रज्वलन कार्यक्रम गरिने भएको छ । सोही दिन अभियानको नारा अंकित स्टिकरहरु वितरण कार्यक्रम पनि राखिएको हेटौंडा उपमहानगरपालिका उपप्रमुख मिना कुमारी लामाले बताइन् । नारा अंकित स्टिकरहरु नगरको सबै सरकारी तथा सामाजिक संघसंस्था, निजी तथा सार्वजनिक यातायातहरुमा टाँसेर जनचेतना अभिवृद्धिको लागि अभियान गर्न लागेको उपप्रमुख लामाले बताइन् । “कोरोना प्रकोपको अवस्था छ, तै पनि स्वास्थ्य सजकता अपनाउँदै विभिन्न कार्यक्रम गर्ने तयारी गरेका छौ” उपप्रमुख लामाले भनिन् ।
हेटौंडा उपमहानगरपालिका, मानव अधिकार संरक्षण तथा मानव वेचविखन बिरुद्धको सञ्जाल, जिल्ला समन्वय समिति, अन्तरपार्टी सञ्जाल, सञ्चारिका समूह तथा अन्य सरोकारवाला संघसंस्थाको सहभागीतामा अभियान अन्तरगत विभिन्न कार्यक्रम गरिने तयारी गरिएको सञ्जाल संयोजक आरती पाठकले बताइन् ।
अभियान अन्तरगत हेटौंडा उपमहानगरपालिकाले अपाङ्गता भएका २५ जनालाई निःशुल्क ह्वील चेयर वितरण गर्ने तयारी गरेको छ । यसैगरी अभियान अन्तरगत हिंसा बिरुद्ध रोड व्यानर तयार गरि १६ दिनसम्म व्यानर प्रदर्शन गर्ने, हिंसा बिरुद्ध साहित्यिक कार्यक्रम, रेडीयो संवाद, नगरको विभिन्न वडाहरुमा सचेतना कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रम गर्ने तयारी भएको हेटौंडा उपमहानगरपालिका महिला विकास अधिकृत विष्णुकुमारी लामिछाने बताइन् ।
यसैगरी मकवानपुरबाट विगत ९ वर्षदेखि निरन्तर प्रकाशित सहीखबर साप्ताहिकले विगतको वर्षहरुमा जस्तै यसवर्ष पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत रहेर समाचार, लेख, अन्तर्वाता तथा सचेतनामुलक जानकारीहरु समेटेर कम्तिमा १८ पृष्ठको लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान विशेषाङ्क प्रकाशन गर्ने भएको छ ।
यस्तै जिससले अभियान अन्तरगत समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन तयारी गरेको पुडासैनीले बताइन् । बैठकमा जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेल, मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बा, भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्बती रानालगायतले सामाजिक सचेतनाको पाटोलाई विशेष ध्यानमा राखेर अभियान जारी राख्नु पर्ने बताए ।
