
- शम्भुप्रसाद भट्टराई
सरल जीवन
छन्द: मालिनी
सरल मन सफा होस् शान्तिले बास गर्छ
जटिल जति बनायो चित्तको शान्ति हर्छ
निहित गुण बिचारी सिर्जना गर्नुपर्छ
नित दिन अविकारी प्रेरणा भर्नुपर्छ ।१।
मन बचन दिएमा गर्नसक्ने गरिन्छ
सहजसित लिएमा चाहना नै भरिन्छ
मन‚ समय दिएमा विश्व रच्ने गरिन्छ
प्रतिदिन पढिएमा चेतना त्यो भरिन्छ ।२।
चहुदिक मन लाए सत्य देखिन्छ भन्छन्
गुण यदि छ विवेकी सत्य लेखिन्छ भन्छन्
विकट छ यदि यात्रा होसले चल्नुपर्छ
धिपधिप किन नै होस् जिन्दगी बल्नुपर्छ ।३।
कर कदम मिलेमा पुग्दछन् सोच‚ आस
शिखरतिर बढेमा विश्व देखिन्छ खास
मन दुषित भएमा व्यक्तिको हुन्छ नास
खुससित श्रम गर्दा लक्ष्मीको हुन्छ बास ।४।
जब जब मनभित्रै द्वेषले बास गर्छ
लयमय दुनियाँ त्यो भत्किदै गर्र झर्छ
सरल क्षण सजिलै दृष्टिले दोषी बन्छ
नबन न अविवेकी सृष्टिले ठ्याक्क भन्छ ।५।
गतिमति जति राम्रो जिन्दगी हुन्छ राम्रो
सुगम‚सुपथ हिंड्दा जिन्दगी बन्छ हाम्रो
युग‚ समर यही हो ब्रम्हले देख्छ लेख्छ
सरल पथ समाए चेतले शान्ति देख्छ ।६।
विजेता हुने गर्दछन् कर्मयोगी
छन्द: भुजङ्गप्रयात
विजेताहरुले समाधान खोज्छन्
समस्या‚ चुनौती खुसी साथ रोज्छन्
कुनै हुन्न त्यस्तो नगर्ने बहाना
सधै व्यस्त हुन्छन् दरो योजनामा ।१।
कमै बोल्दछन् यी गरी काम धेर
प्रतिज्ञा र मौका कुनै जान्न खेर
हुने के छ देख्छन् भविष्यत् र प्राप्ति
सकारेर जान्छन् भए जे छ गल्ति ।२।
म केही हुने हो भनी स्वप्न देख्छन्
भयो के ? हुने के खुलाएर लेख्छन्
भई नम्र यी तर्कना पेश गर्छन्
समस्या परेमा समाधान गर्छन् ।३।
सधै दृढ हुन्छन् सही मान्यतामा
निधो गर्दछन् काम सक्ने कुरामा
ज-जस्ले खटून् ध्येय त्यो हुन्छ साझा
यिनी रोकिइन्छन् निभाएर वादा ।४।
सधैं व्यस्त हुन्छन् चिताएर सोझो
स-साना कुरामा कुनै छैन अल्झो
अरु भन्दछन् के? बढी ध्यान दिन्छन्
खुला चित्तले कर्मको मोल किन्छन् ।५।
कहीँ अल्झिदैनन् कसैका कुरामा
सधै राख्दछन् व्यक्तिका वीच सीमा
हुदैनन् यी विश्राममा काम रोकी
विजेता हुने गर्दछन् कर्मयोगी ।६।
द्वन्द्व र देश
छन्दः उपजाति
प्यारो मलाई छ यही स्वदेश
जन्में यहीँ मर्नु यहीँ छ बेश
अस्तित्व हो देश जपेर मर्छु
जे गर्छु त्यो देश निमित्त गर्छु ।१।
आफूँ अनेकौं रुप जातमा छु
जे जे भए तापनि साथमा छु
पहाड मेरो अनि मै मधेशी थेप्चे
म आफै अनि मै हुँ चुच्चे ।२।
मैले गरेका नमिठा कुराको
विद्रोह मेरै ननिका कुराको
हुतू र तुत्सी गरी दुई भाग
मैलाई बाँडूं कसरी म आज?।३।
आस्था र सिद्धान्त खुदै भिंडाई
मारुँ खुदैको कसरी मलाई
जुध्दा दुबैतर्फ हुनेछ हार
बद्लिन्न हाम्रो कहिल्यै मुहार।४।
मेरो अझै कोमल अङ्ग बेची
लुछ्ने म आफै अनि मै स्वदेशी?
आफन्त मारी सुख-राज्य भोग
गरूँ म आफै कसरी अहो हँ!।५।
बिर्सेर माटो हिडिदैन बाटो
के नै यहाँ हुन्छ र मृत्यु साटो
म मृतिकाको कण हुँ । सुबास
छर्नु छ मैले सब माझ आज।६।
विध्वंशले हुन्न भलो कसैको
देखिन्छ मात्रै प्रतिशोध धोको
सकिन्न बाधाहरु खप्नलाई
भर्ने र गर्ने सबको भलाइ।७।
बिराटनगर