मकवानपुर । कडा प्रतिस्पर्धा र लामो रस्साकस्सीपछि वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प पराजीत गर्दै अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन विजयी भएका छन् ।
उनीसँगै उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भइन् । बाइडेनले संसदमा २ सय ७० इलेक्टोरल कलेज भोट आवस्यक पर्नेमा २ सय ८४ भोट ल्याउँदै विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी डोनल्ड ट्रम्पले भने २ सय १४ भोट मात्रै ल्याए ।
निर्णायक राज्य मानिएको पेन्सिल्भेनियामा बाइडेन र ह्यारिसले जितेसँगै सिएनएन, बीबीसी, एपी लगायत अन्तराष्ट्रिय मिडियाले डेमोक्रेट उम्मेदवारहरुले जितेको जनाएका हुन् । यद्यपि आधिकारिक रुपमा घोषणा भएको छैन ।
यसबीचमा अमेरिकामा ट्रम्प र बाइडेन दुबैका समर्थकहरु आन्दोलित बनेका छन् । झण्डै एक साता लागेर सम्पन्न भएको यसपटकको अमेरिकी निर्वाचन ऐतिहासिक मानिएको छ । सबैभन्दा धेरै मतदाता यसपटक थिए । साथै हुलाक मार्फत पनि मतदान गरिएको थियो ।
यसवाहेक कोरोना महामारीका बीच निर्वाचन सम्पन्न भएको हो । नोभेम्बर ३ मा सुरु निर्वाचनको मतगणना भने नोभेम्बर ७ मा मात्रै सम्पन्न भएको छ । मतगणनाको अन्तिम चरणसम्म आइपुग्दा पनि दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा नै थियो ।
यससँगै ट्रम्प दोस्रो कार्यकाल चलाउन नपाउने अमेरिकाका थोरै राष्ट्रपतिमध्ये एक हुन् । सामान्यत: अमेरिकामा दुई कार्यकालसम्म राष्ट्रपति बन्ने चलन छ । यसैबीच उपराष्ट्रपतिको रुपमा विजयी हुँदै कमला ह्यारिसले अर्को एक इतिहास बनाएकी छन् । उनी अमेरिकाको इतिहासमा पहिलो अस्वेत र भारतीय मूलकी महिला उपराष्ट्रपति हुन् ।
डेमोक्रेटिक पार्टीका जो बाइडेनको राजनीतिक करियर अधिक लामो रह्यो । राष्ट्रपति पदमा चुनिएर सपथ लिएसँगै उनी ७८ वर्षको उमेरमा अमेरिकाको सबैभन्दा उमेरदार राष्ट्रपति हुनेछन् ।
पूर्व डेलावेयर सीनेटर जो बाइडनलाई सन् २००८ मा राष्ट्रपति बाराक ओबामाको कार्यकालमा ४७ औँ अमेरिकी उपराष्ट्रपति पदका लागि चुनिएको थियो र २०१२ पनि फेरि उनलाई निर्वाचित गरियो । त्यसपछि उनी २०२० को राष्ट्रपति पदका लागि उम्मेद्वार बनेर विजय हासिल गरेका हुन् ।
को हुन् जो बाइडेन?
जो बाइडेन अर्थात् जोसेफ रोबिनेट बाइडन जुनियरको जन्म सन् १९४२ मा पेनसिल्भानिया राज्यको स्क्रेटनमा भएको हो । उनी आफ्नो बालापनमा नै डेलावेयर गएका थिए । उनले राजनीतिमा आउनुभन्दा पहिले केही समय वकिलका रुपमा काम गरे । उनी इतिहासमा पाचौँ सबैभन्दा कम उमेरका अमेरिकी सीनेटर र डेलावेयरका सीनेटरका रुपमा सबैभन्दा लामो समयसम्म कार्यरत रहे ।
राष्ट्रपति चुनावको मैदानमा पहिले पनि उत्रिसके बाइडन
डेलावेयरबाट ६ पटकसम्म सीनेटर भइसकेका बाइडन राष्ट्रपति चुनावको रेसमा तेस्रो पटक मैदानमा आएका हुन्। उनले पहिलो पटक १९८८ को चुनावमा प्रयास गरेका थिए। तब उनी साहित्यिक चोरीको आरोपमा पछि हट्नु परेको थियो । फेरि उनले आफ्नो दोस्रो प्रयास २००८ को चुनावका लागि गरेका थिए ।
बाइडनलाई अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाको नजिकी मानिन्छ । उनी ओबामाको कार्यकालमा २००८ देखि २०१६ सम्म दुईपटक उपराष्ट्रपति भइसकेका छन् । २०२० को राष्ट्रपति चुनावमा बाइडनको जीतका लागि ओबामा पनि अधिक प्रयासरत देखिएका छन् ।
पारिवारिक मुस्किलका साथ लडेर यस स्थानमा पुगे बाइडन
१९७२ मा बाइडन सीनेटका लागि चुनिएका सबैभन्दा कम उमेरका मानिसमध्ये एक थिए । त्यसको केही हप्तापछि बाइडनको परिवारमा एउटा ठूलो आपत्ति आइपर्याे, जब कार दुर्घटनामा उनकी पत्नी नीलिया र छोरी नाओमीको मृत्यु भयो, जबकि उनका छोरा हन्टर र ब्यू गम्भीर रुपमा घाइते हुन पुगे ।
सन् २०१५ मा बाइडनका जेठा छोरा ब्यूको ब्रेन क्यान्सरका कारण मृत्यु भयो। उनका साना छोरा हन्टर एक वकिल र लबिस्टका रुपमा उनको करियर भ्रष्टाचारको आरोपको निशाना बनिरहेको छ ।
बाइडनको प्राथमिकता के हो?
बाइडनका तीनवटा मुख्य प्राथमिकता रहेका छन्, जसमा स्वास्थ्य सुरक्षासँग सम्बन्धित ढाँचाको विस्तार गर्नु, शिक्षामा अधिक लगानी गर्नु र सहयोगी देशका साथको सम्बन्धलाई नयाँ दिशा दिनु शामिल रहेका छन् ।
विवादसँग जोडिएको सम्बन्ध
बाइडनमाथि ब्रिटिश लेशर पार्टीका नील किन्नकको भाषणको साहित्यिक चोरीको आरोप लागेको थियो । यसका अलावा बाइडनले स्वीकार गरेका थिए कि, उनले ल अफ स्कुलमा आफ्नो पहिलो वर्षका क्रममा कानुनी समीक्षाको लेख चोरी गरेका थिए ।
यौन उत्पीडनको आरोप पनि लागेको थियो
बाइडनको सीनेट अफिसमा काम गर्ने एक महिलाले वाशिंगटन डीसीको प्रहरी समक्ष एक अपराधिक उजुरी दर्ता गराएकी थिईन् । ती महिलाले सन् १९९३ मा बाइडनले आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी थिईन् । पत्रपत्रिकाकाे सहयाेगमा