मकवानपुर । देशभर काेराेना भाइरसकाे संक्रमण बढे सँगै यसकाे बिमा गर्नेहरू पनि थपिए । तर काेराेना भाइरस पुष्टि भएपछि बिमा गरेकाे बिमा कम्पनी मार्फत दाबी गरे पनि अहिलेसम्म बिमा वापतकाे रकम नपाएकाे गुनासाे काराेना भाइरस संक्रमण भइ निकाे भएकाहरूकाे छ । बिमा कम्पनीहरूले आवश्यक कागजात सहित केन्द्रीय कार्यालयमा पठाउने र त्याे विषयमा केन्द्रीय कार्यालयले नै निर्णय गर्ने भन्दै जवाफ दिने गरेकाे बिमितहरू बताउँछन् ।
देशभरबाट काेराेना बिमा गर्नेकाे सङ्ख्या लाखाैं रहे पनि काेराेना संक्रमण पश्रचात पाउनु पर्ने बिमा रकम पाउन सकेकाे छैनन् । काेराेना पाेजेटिभ भएकाे २ महिना बढी हुँदा समेत बिमा दाबि रकम हाल सम्म प्राप्त गरेकाे नेपाली काँग्रेस हेटौंडा उपमहानगरका सभापति आनन्दराम पराजुलीले बताए । कोरोना जीतेर आफ्नो कार्यमा फर्किसकेका उनले कोरोना बिमाको रकम आउने भएपिछ बिमा बराबरको १ लाख रकम विभिन्न संघसंस्थालाई सहयोग गरिसकेका छन् । पराजुली त प्रतिनिधि पात्र मात्र हुन बिमा दाबि भुक्तानीकाे कागजात पेश गरेर हालसम्म दाबि रकम भुक्तानी नपाउने हजाराै रहेका छन् ।
कोरोना संक्रमण भएर २ महिना बित्दा पनि बिमा रकम नपाएकी हेटौंडाकी पत्रकार कुमारी स्याङ्बो पनि हुन् । उनकाे नेपाल पत्रकार महासंघ बागमती प्रदेशबाट युनाइटेड इन्स्योरेन्समा बिमा गरिएको थियो । बिमा दाबि भुक्तानीको लागि पेश गरेको भए पनि बिमा बापतको रकम पाउने आश मरिसकेको उनी बताउँछिन ।
कोरोना संक्रमित करिब ९० प्रतिशत बिमितले भुक्तानी पाएका छैनन् । आवश्यक सबै कागजात पुगे पनि लामो समयसम्म दाबि भुक्तानी नपाएका अधिकांश हेटौंडाका बिमितले बिमा रकम पाउने आश मारिसकेका बताउँछन् । कोरोना बिमा मापदण्ड–२०७७ मा आवश्यक कागजात पुगेका बिमितले बढीमा सात दिनभित्र भुक्तनी पाइसक्नुपर्ने प्रावधान छ ।
यसै बीच बिमा समितिले कोरोना बिमाको दाबि भुक्तानी सात दिन भित्रै गर्न बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले सबै निर्जीवन बिमा कम्पनीहरुलाई मंगलबार सर्कुलर जारी गर्दै कोरोना बिमाको दाबि भुक्तानी ७ दिनभित्र गर्न निर्देशन दिएको हो ।
अर्थमन्त्रालयले पनि कोरोना बिमाको दाबि भुक्तानीमा ढिलाई गरेको भन्दै बिमा समितिलाई पत्र लेखेर सात दिन भित्र दाबि भुक्तानी दिने व्यवस्था मिलाउन पत्र काटेको थियो । त्यस अनुसार समितिले सात दिन भित्र दावी भुक्तानी दिने व्यवस्था मिलाउन निर्नेशन दिएकाे हाे ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा अर्थमन्त्रालयमा मंगलबार बसेको बैठकले कोरोना बिमाको दाबि गरेका सबै बिमितहरुलाई एक हप्ताभित्रै दाबि भुक्तानी दिने समेत निर्णय गरेको थियाे । दाबि भुक्तानीको समन्वय र अनुगमन बिमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने पर्ने निर्णय बैठकले गरेको छ । कोरोना बिमाको दाबि भुक्तानीमा ढिलाई भएको चौतर्फी आलोचना भएपछि अर्थमन्त्रालयमा छलफलभएपछि समितिले उक्त निर्देशन दिएको बताइएकाे छ ।
