इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा दिल्ली क्यापिटल्स प्रवेश गरेको छ ।यूएईको शेख जायद स्टेडियममा राति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली १६ अंक सहित क्वालिफायर पुगेको हो । बेङ्ग्लोरले दिएको १ सय ५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।
अंक तालिकाको शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्स र दिल्लीबीच आगामी बिहीबार दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा क्वालिफायर–१ मा प्रतिस्पर्धा हुनेछ । विजेता फाइनल प्रवेश गर्नेछ भने पराजित टीमले इलिमिनिटर विजेताबीच खेल्नेछ ।
दिल्लीसँग पराजित भएको बैंगलौरको पनि प्लेअफको स्थान सुरक्षित भएको छ । कोलकाता नाइट राइडर्ससँग समान १४ अंक भए पनि नेट रन रेटको आधारमा बैंगलोर तेस्रो स्थानमा छ ।
बैंगलौरले शुक्रबार कोलकाता र सनराइजर्स हैदरावाद मध्ये एक टीमसँग अबुधाबीमा इलिमिनिटरमा खेल्नेछ । दिल्लीको जितमा अजिन्का रहाणे र शिखर धवनले अर्धशतकीय पारी खेले । रहाणे ६० रन बनाएर आउट हुँदा धवनले ५४ रन बनाए । यस्तै कप्तान श्रेयस एयरले ७ रन जोड्दा पृथ्वी ९ रनमा आउट भए ।
मार्कुस स्टोनिस १० र ऋषव पन्त ८ रनमा अविजित रहे । तर, नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने भने प्लेइङ सेटमा परेनन् । बेङ्ग्लोरका शाहबाज अहमेदले २ विकेट लिए । वासिङ्गटन सुन्दर र मोहमद सिराजले १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो । बेङ्ग्लोरका लागि देवदूत पडीकलले ५० रनको अर्धशतकीय पारी खेले । एबी डी भिलियर्सले ३५ रन र कप्तान विराट कोहलीले २९ रन बनाए । यस्तै शिवम् दुबेले १७ रन जोड्दा जोस फिलिपेले १२ रन जोडे । दिल्लीका एनरिच नोर्टजेले ३ विकेट लिए ।

कागिसो राबाडाले २ तथा रविचन्द्र आश्विनले १ विकेट लिए । जितसँगै दिल्लीले १४ खेलमा १६ अंक जोडेको छ । दिल्ली अंक तालिकाको दोस्रो स्थानमा रहदै क्वालिफायरमा पुगेको हो । दिल्लीले अब पहिलो क्वालिफायरमा शीर्ष स्थानमा रहदै प्ले अफ पुगेको मुम्बई इण्डियन्ससँग खेल्नेछ ।
पहिलो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्नेछ । दिल्लीसँग पराजित बेङ्ग्लोर पनि प्ले अफमा पुगेको छ । चौंथो स्थानको कोलकता नाइट राइडर्स भन्दा नेट रन रेटले अघि रहेपछि बेङ्ग्लोरले प्ले अफमा स्थान बनाएको हो ।
बेङ्ग्लोरले १४ खेलमा १४ अंक जोडेको छ । अब बेङ्ग्लोरले दोस्रो क्वालिफायरमा कोलकाता र सनराइजर्स हैदराबादमध्ये एक टिमसँग खेल्नेछ । क्वालिफायरमा पुग्ने अन्तिम टिमको टुंगो लिग चरणको अन्तिम खेलले तय हुनेछ । लिग चरणको अन्तिम खेलमा मुम्बई र हैदराबादबीच खेल हुनेछ ।
मुम्बईले जित निकालेमा कोलकाता प्ले अफ पुग्नेछ । हैदराबादले जित निकालेमा कोलकता प्ले अफबाट बाहिरिनेछ ।