मकवानपुर । पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ। उनीहरू देशका विभिन्न अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए । स्वास्थ्य मन्त्रालयकाे शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८९ हजार ८ सय ४० रहेको थियो।
नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७ सय ३९ पुगेको छ।
बितेको २४ घण्टामा देशभर थप २ हजार ९ सय ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको प्रवक्ता गाैतमले जानकारी दिए । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको आइतबारको नियमित प्रेस ब्रिफिङमा गौतमले जानकारी दिए ।
यस्तै हाल देशभर संस्थागत आइसोलेशन १२ हजार ९३३ जना र होम आइसोलेशन २६ हजार ४०८ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर १४ हजार ८ सय ७५ जनाको भएको छ भने काठमाडौँमा १ हजार ४ सय ६९, ललितपुरमा १ सय ३० र भक्तपुरमा ९९ जना गरी उपत्यकामा कुल १ हजार ६ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ ।