मकवनापुर । राक्सिराङ गाउँपालिका ४ का स्थानीयले आफ्ना मागहरु सम्बोधन नगरी खानी सञ्चालन गर्न नदिने निर्णय गरेका छन् । मकवानपुरको पश्चिममा रहेकाे राक्सिराङ गिङ्गु डाँडामा हेटौंडामा सञ्चालनमा रहेकाे रिद्धिसिद्धि सिमेन्ट उद्योले बिगत् ३ वर्षदेखि खानी सञ्चालनको प्रयास गर्दै आएको छ ।
स्थानीय जनसरोकार समितिको आयोजनामा बुधबार भएको भेलामा खानी क्षेत्रकाे तल्लो ठाँउमा बसोबास गर्दै आएका ६४ परिवारले आफुहरुको उचित ब्यवस्थापन नभएसम्म खानी सञ्चालन गर्न नदिने निर्णय गरेका हुन् । उनीहरूले पुस्ताैंदेखि भोगचलन गर्दै आएको जमिनको उचित मुआब्जा र उच्च जोखिमा रहेकाहरुको पुर्नबासको माग गरेका छन् ।

उद्योगले जर्बजस्ती खानी सञ्चालन गर्न खोजे त्यसको प्रतिवादन गर्ने भेलाले निर्णय गरेको सरोकार समितिका अध्यक्ष गोपाल मुक्तानले बताए । उनका अनुसार सिमेण्ट उद्याेगकाे खानीले आसपासका २५ हेक्टर जमिन प्रभावित हुनेछ । चलनचल्तीको मुल्यमा उद्योग आफैले स्थानीयको जमिनि खरिद गर्नुपर्ने, जग्गा बिक्री गर्दा दश लाख रुपैयाँ भन्दा कम रकम प्राप्त हुनेहरुलाई अन्यत्र पुर्नबास गराउनुपर्ने स्थानीयहरुले माग गरेका छन् । साथै भेलामा उद्योगका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिलाई बोलाएपनि उपस्थित नभएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।
भेलामा बोल्दै सामाजिक अभियान्ता तथा जनता समाजवादी पार्टीका युवा नेता तुफान बिक्रम क्षेत्रीले स्थानीयहरुको उचित ब्यवस्थापनमा उद्योगले बेवास्ता गरेको बताए । ‘डाँडामाथि खानी खन्ने र मुनितिरका जनताको ब्यवस्थापन नगर्ने हो भने ठुलो बिपत्ति निम्तिनसक्छ’, उनले भने, ‘लुकिछिपि स्थानीयको माग सम्बोधन नगरी उद्योगले खानी सञ्चालन गर्न सक्दैन ।’ भेलामा जनसरोकार समितिका सचिव डिल बहादुर प्रजा,स्थानीय टोल विकास समितिका अध्यक्ष सुक्रमान प्रजा, ४ नम्बर वडा सदस्य कर्ण बहादुर बल लगायतले स्थानीयहरुको समस्याको बारेमा बोलेका थिए ।

भेलामा सहभागि स्थानीयहरु
खानी बिभागले भने हालसम्म गिङ्गु डाँडामा रिद्धिसिद्धि सिमेन्टले उत्खनन् अनुमति लिइनसकेको जनाएको छ । गिङ्गु डाँडादेखि गोराङ्दी खोला किनारसम्म भिरालो जमिनमा रहेको बस्ती खानी सञ्चालनपछि उच्च जोखिमा रहने भन्दै खानी बिभागको अध्ययन टोलीले उक्त बस्तीलाई अन्यत्र सारेर मात्र खानी सञ्चालन गर्न सकिने प्रतिवेदन बिभागमा बुझाएको छ ।