मकवानपुर । ६५ औं प्रहरी दिवस २०७७ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा बुधबार सार्वजनिक महत्वका धार्मिक स्थलहरुको सरसफाई गरिएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय साथै अन्तर्गतका १० वटै जिल्लाहरुमा एकै साथ सरसफाई कार्यक्रम भएको हो । प्रदेश भरीका १५ वटा धार्मिक स्थलहरुको सरसफाई गरीएको हो । प्रदेश भरीका ३ सय ७० जना प्रहरी कर्मचारी परिचालन गरी सरसफाई गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले जानकारी दिए ।
धार्मिक स्थलको सरसफाई गर्ने कार्यक्रम अन्तर्गत बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा, प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरी, प्रहरी निरीक्षक रोशन थापा सहितको ४० जना प्रहरी कर्मचारीको टोलीले हेटौंडा उप महानगरपालीका १० स्थित गोरक्षेश्वर मन्दिरको सरसफाई गरेको थियो ।
प्रहरी दिवसकै अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले विहीबार बृक्षारोपण गर्ने कार्यक्रम रहेको छ । प्रदेश अन्तर्गतका सम्पुर्ण जिल्लाहरुमा विहीबार बिहान सार्बजनिक महत्वका स्थलहरुमा बृक्षारोपण कार्यक्रम गरिने गिरीले बताए ।