मकवानपुर । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७४ हजार २ सय ५२ पुगेको छ। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २३ रहेको थियो ।
मन्त्रालयका अनुसार शुक्रबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ सय पुगेको थियो। पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६१४ पुगेको छ।
यस्तै नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३१ हजार नजिक पुगेको छ। शनिबारसम्म देशभर सक्रिय संक्रमितको ३० हजार ८ सय १८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ६ सय ५४ र होम आइसोलेशनमा १७ हजार १ सय ६४ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा १९ हजार ३२० जनाको पीसीआर परीक्षण भएकामा ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म २४ घण्टामा यतिधेरै संक्रमित भेटिएर नयाँ रेकर्ड कायम भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ।
संक्रमितमध्ये उपत्यकामा मात्रै आधाभन्दा बढी रहेका छन् । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६ सय ७२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
काठमाडौंमा २ हजार १ सय, भक्तपुरमा २ सय ३ र ललितपुरमा ३ सय ६९ गरी २ हजार ६ सय ७२ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गाैतमले बताए ।
हेर्नुहाेस तथ्यांक