मकवानपुर । पोष्ट बहादुर बोगटी सुरुङमार्ग (भीमफेदी कुलेखानी) सडक आयोजनाको कार्यालय उद्घाटन भएको छ । बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गत रहने गरि शुक्रबार प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुँयालले उद्घाटन गरेका हुन् ।
कार्यालय उद्घाटन गर्दै मन्त्री फुयाँलले बागमती प्रदेशको गौरवको आयोजना मात्रै नभई देशकै गौरवको रुपमा सुरुङ मार्गको काम अगाडी बढाउने बताए । उनले नेपाल सुरुङ मार्गमा प्रवेश गरिसकेको भन्दै सुरुङ मार्गको काम अगाडी बढिसकेको दाबी गरे । पोष्ट बहादुर बोगटी सुरुङमार्ग(भीमफेदी कुलेखानी)को टेण्डर आह्वान हुने गरि काम भईरहेको आयोजना कार्यालयले जनाएको छ । कार्यालयको उद्घाटनमा सुरुङ मार्गको जानकारी दिँदै पोष्ट बहादुर बोगटी सुरुङमार्ग(भीमफेदी कुलेखानी) आयोजनाका प्रमुख नबिन कुमार सिंहले यहि आर्थिक वर्षको पुसको दोस्रो हप्तामा वातावरणीय प्रभाव मुल्यांकन(इआइए) सकिए फागुनको पहिलो हप्ता टेण्डरका आह्वान हुने बताए ।
यस्तै अहिलेकै गतिमा काम गर्न सके आर्थिक वर्षको अन्तिम तिर अर्थात जेठको तस्रो हप्ता सम्झौता हुने समेत दाबी गरेका छन् । कार्यालय प्रमुख सिंहका अनुसार भीमफेदी–कुलेखानी सुरुङ मार्ग मकवानपुरको भीमफेदी बजारबाट करिब २ किलोमिटर उत्तर पूर्वबाट ७ दशमलव ५ मिटर व्यास भएको दुईवटा सुरुङ्गमार्ग निर्माण हुनेछ। उनले भने ‘भीमफेदीबाट कुलेखानीसम्मको करिब १६ किलोमिटर जटिल भू बनावट, उच्च जोखिम, साँघुरो, घुमाउरो तथा अप्ठ्यारो सडकखण्डलाई ३ किलोमिटरमा घटाएर काठमाडौसँग हेटौंडा तथा तराई मधेशको दूरी अझ छोट्याउने यस आयोजनाको प्रमुख लक्ष्य रहेको छ ।’
सिंहले दिएको जानकारी अनुसार आयोजनाको प्रमुख संरचनाको रुपमा दुई वटा सुरुङ्गहरु एक आपसमा ४० मिटरको फरकमा समानान्तर रुपमा साढे दुई किलोमिटर दुई लेनको सडक, ७५ मिटर र ३५ मिटर लम्बाईको दुई वटा पक्कीपुलहरु बन्ने छन् । सुरुङको आयोजनाको अन्तर्गत नै सुरुङ भित्रको बाहेक अन्य सुरुङ संग जोडिएको बागमती प्रदेशको राजधानी तर्फ संघको राजधानी तर्फको सडकको स्तर वृद्धि हुने भएको छ ।
जस अन्तर्गत भैंसे–भीमफेदी सडक खण्ड तथा कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक खण्ड पनि दुईलेनको सडक बनाएर स्तरवृद्धि गरिने भएको हो । प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालय अन्तगर्तबाट कुलेखानी–फाखेल–फर्पिङ्ग सडक सुधार एवम् स्तरोन्नती गर्ने कार्य भईरहेको मन्त्रालयका सचिव सन्जिव बरालले जानकारी दिए ।
बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रमबाट प्रदेश गौरवको आयोजनाको रुपमा घोषणा गरी आयोजनाको सम्भाव्यता अध्ययन तथा निर्माणको लागि तयारी कार्य हुँदै आएको सचिव बरालले बताए । आयोजना निर्माण गर्नको लागि आर्थिक मामिला तथा योजना मन्त्रालयबाट श्रोत सुनिश्चितता पश्चात १९ अर्ब ३२ करोड ५ लाख ७६ हजार ५ सय रुपैंया लागतको बहुबर्षिय खरिद गुरुयोजना स्वीकृत गरिसकेको छ ।
सुरुङमार्गको परामर्शदाताको रुपमा काम गर्न दक्षिण कोरिया, चीन,अष्ट्रेलिया, टर्की सहित विभिन्न देशबाट १२ संस्थाले इच्छुक रहेको भन्दै जानकारी गराएको सचिव बरालले बताए । यस्तै नेपाल सरकारले आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा सुरुङमार्गको आयोजनालाई प्रदेश सरकारसँगको सहकार्यमा कार्यान्वयन गर्ने गरी बजेटको व्यवस्था गरेको बागमती प्रदेशका भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाँलले बताए ।