मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नीति, योजना र लक्ष्य अनुसार सरकारले काम गर्ने बताएका छन् । प्रदेश नीति तथा योजना आयोगले तयार पारेको दिगो विकासका लक्ष्यहरू बागमती प्रदेशको अवस्था तथा मार्गचित्र बिमोचन गर्दै उनले नीति अनुसार काम नभए उद्देश्य प्राप्ती नहुने बताए।
अहिले पनि तीनै तहले बिकासमुखी भन्दा पनि बितरणमुखी बजेट प्रस्तुत गरिरहेको भन्दै यसलाई सुधार्न जरुरी रहेको बताएका हुन्। ‘बजेटलाई अहिलेपनि छर्ने परिपाटी रहेको छ, यो हामीले अन्त्य गर्नुपर्छ’ पाैडेलले भने- ‘सम्बृद्धि हासिल गर्न उत्पादनमुखी काम गर्न जरुरी छ ।’ पौडेलले मौलिक हकको अनुभूति हुनेगरी कार्यान्वयन गर्ने, दायित्व तीनै तहका सरकारको भएको बताए । देशका लागि स्थायित्व र दिगो रूपमा विकास लक्ष्यहरु हासिल गर्दै, समृद्ध नेपालःसुखी नेपालीको सपनालाई टेवा दिने महत्वपूर्ण रूपमा बागमती प्रदेश रहेको उनले बताए ।
समाजवाद उन्मुख समृद्ध प्रदेशको दीर्घकालीन सोच प्रदेश सरकारको रहेको पनि उनले स्पष्ट पार्दै भने–‘भौगोलिक विकटता, जनसांख्यिक विविधता, समावेशीताजन्य चुनौती र समस्याहरूसँग जुध्दै समाजवाद उन्मुख वातावरण तयार पार्ने दायित्व समेत प्रदेश सरकारको छ ।’ प्रदेशले दिगो विकासका रणनीतिक प्राथमिकताका विषयगत लक्ष्य तथा उद्देश्यहरूको सूचकहरू जसलाई गतवर्ष प्रकाशित पहिलो आवधिक योजनामा समावेश गरिएका जानकारी दिदैं यसैलाई दिगो विकासको लक्ष्यको आधारभूत तथ्यांक स्रोतको रूपमा प्रयोग भएको उनले जानकारी दिए।
प्रतिवेदनमा नेपालको दिगो विकासको चित्रण प्रस्तुत गर्नको साथै महत्वपूर्ण वर्षको रूपमा रहेको २०१९, २०२२ र २०२५ को लागि प्रमुख आधार तथ्यांकहरू समावेश गर्दै सन् २०३० को लागि मार्गचित्र प्रस्तुत गरेको उनले जानकारी दिए । ‘लक्ष्यहरू पूरा गर्नका लागि केही समय चुनौति रहेपनि हाम्रा विकासका लक्ष्यहरू, निर्धारित उद्देश्यहरू समयमै प्राप्त गर्नका लागि सरकारी र गैरसरकारी नीजि र सामुदायिक क्षेत्रबीच रणनीतिक साझेदारी हुन आवश्यक छ ।’ मुख्यमन्त्री पाैडेलले भने ।