- अनिल पराजुली
कतार /मकवानपुर जिल्ला छतिवन निवासी मृगौला पीडित रामकृष्ण बजगाईलाई दक्षिण कोरियामा कार्यरत नेपालीहरुले सहयोग रकम पठाएका छन् । छतिवन जुरेली घर भई हाल दक्षिण कोरियामा कार्यरत अभिनय न्यौपानेको पहलमा संकलन गरिएको १ लाख १ हजार ५ सय ६८ रुपियाँ मृगौला पीडित बजगाईलाई हस्तान्तरण गरिएको हो ।
कोरियाबाट संकलन गरि पठाईएको सो रकम नेपालमा रहेका नबिन न्यौपानेले पीडित बजगाईको काठमाडौं स्थित डेरामा पुगेर हस्तान्तरण गरेका थिए । दक्षिण कोरियामा रहेका ३५ जना नेपालीले सहयोग रकम जुटाएर पठाएका थिए । मृगौला पीडित बजगाईले सहयोग प्राप्त भएपछि सहयोगिहरुलाई आभार व्यक्त गरे । दुबै मृगौलामा समस्या आएपछि मकवानपुर जिल्ला बकैया गाउँपालिका–४ जुरेली निवासी ३३ बर्षीय बजगाईले आर्थिक सहयोगको याचना गरेका छन् ।
२०७६ साल माघमा स्वास्थ्यमा समस्या आएपछि स्वास्थ्य परीक्षण गराउने क्रममा बजगाईको दुबै मृगौलामा समस्या भएको चिकित्सकले जानकारी दिएका थिए । ८ महिनादेखि उनी उपचारका लागि पाटन, कान्तिपुर, टिचिङमा धाइरहेका छन् । हाल उनको काठमाडौं स्थित सुमेरु अस्पतालमा उपचार भईरहेको छ । बजगाइले हप्तामा २ पटक डाइलेसिस गर्नका लागि आइतवार र बुधबार अस्पताल जाने गरेका छन् । प्रत्येक हप्ता डाइलेसिस गर्नका लागि ३० देखि ३५ हजार रुपियाँ खर्च हुने गरेको उनले जानकारी दिए । डाइलेसिस गर्न जानकै लागि हाल उनी काठमाडौंमा डेरा लिएर उपचार गराईरहेका छन् ।
बजगाई करिव ७ बर्ष बैदेशिक रोजगारमा गएर नेपाल फर्किएका थिए । उनले बहराइनमा ३ वर्ष र कुवेतमा ४ वर्ष होटलमा काम गरेर केही रकम आर्जन गरेका थिए । उनले बैदेशिक रोजगारमा गएर आर्जन गरेको करिव १४ लाख मृगौलाको उपचारमै खर्च भईसकेको जानकारी दिए ।
चिकित्सकले मृगौला प्रत्यारोपण नै अन्तिम विकल्प रहेको र प्रत्यारोपणका लागि कम्तिमा २५ देखि ३० लाख खर्च लाग्ने बताएका छन् । आर्थिक अवस्था कमजोर रहेको कारणले मृगौला प्रत्यारोपण गर्न आर्थिक अभाव भएपछि ३३ वर्षीया बजगाइले जीवन रक्षा गरिदिन सार्वजानिक अपिल गरेका थिए ।
बजगाईलाई सहयोग गर्न चाहनेले आइएमइ ग्लोबल बैकको खाता नम्वर यू ५०७०१००००६५४ मा रकम जम्मा गर्न सक्नेछन् । उनलाई ९८६४३३९३०१, ९८६०२१८३३६,९८४९१४९१८५ मा सहयोग गर्नका लागि सम्पर्क गर्न अपिल गरेका छन् ।