मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना नियन्त्रणका लागि आईसीयु संख्या बढाउने बताएका छन् । बुधबार सङ्घीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिका पदाधिकारीसँग भएको छलफलमा उनले हाल गम्भीर प्रकृतिका बिरामीहरू देखापर्न थालेकोले आईसीयुको संख्या बढाउनु पर्ने धारणा राखेका हुन ।
उनले प्रदेश सरकारले आईसोलेशन निर्माण एबम संचालन गरिरहेको जानकारी दिदै यसको नियन्त्रणका लागि प्रदेश सरकार जिम्मेवार भएर लागेको बताए । अन्य जिल्लामा संक्रमण कम भएपनि अहिले काठमाडौमा कोरोनाबाट थप सङ्कट उत्पन्न हुन सक्नेतर्फ संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्य अनिवार्य रहेकोमा मुख्यमन्त्री पौडेलले बताए ।काठमाडौको सङ्क्रमण दर घटाउन प्रदेशले विभिन्न स्थानमा आईसोलेशन निर्माण गरि काम गरिरहेको पनि उनले जानकारी दिए ।
यसैगरी कोरोना सङ्क्रमणकै कारण शिक्षा क्षेत्र समस्याग्रस्त बनेको बिषयमा छलफल भएको थियो । छलफलका क्रममा समितिका सदस्य जिवनराम श्रेष्ठले शिक्षा र स्वास्थ्यका क्षेत्रमा प्रदेशसँग समन्वय र सहकार्य हुने बताए । हाल काठमाण्डौ लगायत ललितपुर, चितवन, दोलखा, काभ्रे जिल्लामा प्रदेश मातहतका अस्पताल रहेका छैनन् । ति जिल्लामा आफ्ना मातहतका अस्पताल संचालन गर्न सोहि जिल्लामा रहेका एक एक वटा स्वास्थ्य केन्द्रहरुलाई स्तरोन्नती गर्न लागिएको छ । ती स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पतालका रुपमा बिकास गर्न नेपाल सरकारलाई पत्राचार गरीसकिएको प्रदेश सरकारले जनाएको छ ।
काठमाडाैकाे कोरोना संक्रमितलाई राख्न प्रत्येक स्थानिय तहमा १००/१०० बेडको आइसोलेशन निर्माण भइसकेको छ । अहिले प्रदेशका अस्पतालहरुमा आवश्यकताअनुसार आईसीयु र भेन्टिलेटरसहितको सुबिधा उपलब्ध गराईएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
प्रदेशले कोरोना परीक्षणका लागि २ स्थानमा ल्याब सञ्चालन गरिरहेको र ४ वटा तत्काल थप हुने भएका छन् भने सिन्धुली, भक्तपुर नुवाकोट र हेटौंडामा थप गर्न लागिएको छ । हाल प्रदेशमा ३ हजार २ सय ६० आइसोलेशन बेड, ६ सय ३० आइसीयु बेड रहेका छन भने १ सय ९५ वटा भेन्टिलेटर बेड रहेकाे सामाजिक विकास मन्त्रालयले जानकारी दिएकाे छ ।