मकवानपुर / गत भदौ ३१ गरेको निर्णय अनुसार बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि रकम हस्तान्तरण गरेको छ । प्रदेश सरकारले बुधबार धुर्मुस सुन्तली फाउन्डेसनलाई तीन करोड रुपियाँ रकम हस्तान्तरण गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडामा एक कार्यक्रमको आयोजना गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई ३ करोड रकमको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले धुर्मुस सुन्तलीले उत्साहका साथ गरेको कामको प्रसंसा गरे । उनले रंगशाला निर्माण तिव्र गतिमा भएको भन्दै खुसि समेत व्यक्त गरेका थिए ।
‘रंगशाला निर्माण परियोजना छिटो सक्नुहोस’ उनले भने ‘सरकारले आगामी दिनमा पनि सहयोग जारी राख्ने छ ।’ रंगशाला निर्माणमा चुनौती धेरै रहेकोले जसरी पनि सफल बनाउनुपर्ने बताउदै यो गौरवको आयोजना भएको पौडेलले बताए । ‘आगामी वर्षलाई पनि सरकार छ भन्ने सम्झनु ।’ उनले भने । यस्तै कार्यक्रममा सामाजिक विकास मन्त्री युबराज दुलाल आगामी दिनमा पनि सरकारका तर्फबाट सहयोग हुने बताए । परिकल्पना अनुसार सफलताको लागि शुभकामना दिदै फाउण्डेसनलाई चुनौती पन्छाएर अगाडि बढ्न दुलालले सुझाव दिए ।
यसैगरी फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले सहयोग रकम बुझ्दै खुसिको दिन भएको प्रतिक्रिया दिए । सरकारले सहयोग गर्छ भन्ने अपेक्षा रहेको भन्दै जग्गा दिएर सुरु गरेको र हाल रकम सहयोग गरेकोमा धन्यवाद दिए । रंगशाला निर्माणमा हाल २ सय ३३ जनशक्तिले काम गरीरहेको उनले जानकारी दिए ।
’सहयोगी मनहरुले सहयोग गरी रहेको भएपनि लकडाउनले परिस्थिति जटील बनाएको छ’ उनले भने–‘अवस्था समस्याजनक छ तर पनि काम गर्दै छौ, ७ करोड तिर्न बाँकी छ । तर, पनि हामीले हिम्मत हारेका छैनौं ।’ कार्यक्रममा प्रदेशका प्रमुख सचिव डा. मानबहादुर बिक, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जे एन थपलिया, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्ले लगायत सहभागी थिए ।
बागमती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट मैदान निर्माणका लागि धुर्मुश सुन्तली फाउण्डेसनलाई ३ करोड दिने निर्णय गत भदौ ३१ गते नै गरेको थियो । प्रदेश सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष २०७७र०७८ का लागि अनुदान रकम दिन लागको हो ।
कोभिड १९ को संक्रमणका अवस्थामा पनि निरन्तर निर्माणगरीरहेको भन्दै काम सुचारु गर्न सहज होस भनेर सहयोग गर्न लागिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए ।