मकवानपुर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय आज बस्दैछ। अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको बैठकमा मन्त्री हेरफेर तथा पछिल्लो मन्त्रिपरिषदले गरेको केही नियुक्तिका विषयमा छलफल हुनेछ।
पार्टीभित्र छलफल गरेर मात्रै महत्वपूर्ण राजनीतिक नियुक्ति गर्ने भनिए पनि प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद्को पछिल्लो नियुक्तिअघि पटक-पटक छलफल भए पनि त्यसबारे समझदारी थियो वा थिएन भन्ने बाहिरिएको छैन। प्रचण्डले अहिलेसम्म आफ्नो धारणा सार्वजनिक नगरे पनि उनी निकट नेताहरूले असन्तुष्टि जनाइसकेको विषय बाहिरिएका छन्।
बिहीबारको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्री डा.युवराज खतिवडालाई अमेरिकाको राजदूत, मुख्यसचिवमा शंकरदास बैरागी र निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत बनाउने निर्णय गरेको थियो।
भदौ २६ गते बसेको स्थायी कमिटीको बैठकले सरकारले महत्वपूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने निर्णय गरेको थियो। स्थायी कमिटिकाे निर्णय विपरित निर्णय भएपछि नेकपाभित्र गत भदौ अन्तिम साताबाट मत्थर भएको विवाद फेरि बल्झिन सक्ने अनुमान गर्न थालिएकाे छ।
यस्तै आजको सचिवालय बैठकमा मन्त्रिमण्डल हेरफेरबारे नेकपाअध्यक्षद्वयबीच अहिलेसम्म भएको छलफल र समझदारीबारे पनि छलफल हुने बताइएकाे छ।