
१.
मान्छे नकारात्मक मात्र हेर्छ
छन्द: इन्द्रबज्रा
मान्छे नकारात्मक मात्र खोज्छ
जे छन् नराम्रा तब हेर्छ‚ रोज्छ
कस्तो अनौठो मन पाल्छ मान्छे
सोच्दै नसोची मल फाल्छ मान्छे ।१।
हुन्छन् अनेकौ गुण वा स्वभाव
खोतल्छ मान्छे कम वा अभाव
आफ्नो भए बेस्कन टाल्छ मान्छे
भेटे अरुको त पखाल्छ मान्छे ।२।
केले गरेको बुझिसक्नु छैन
भन्दा नसुन्ने‚ भनिसक्नु छैन
बेकारमा लड्छ र जुध्छ मान्छे
उल्टो नराम्रो अनि बुझ्छ मान्छे ।३।
राम्रो भनेमा उपदेश बुझ्छ
“को होस् तँ” भन्दै अघि सर्छ‚ जुध्छ
“सोचौं सकारात्मक” भन्नुहुन्न
सामान्य मान्छे पनि गन्नुहुन्न ।४।
बिर्सौं भन्यो मान्छ कहाँ र चित्त
यस्तै छ मेरो परिवेश वृत्त
आफन्त बन्दा पनि टेर्न छाड्छ
“सत्चित्त बेकार” भनेर भाँड्छ ।५।
जे छन् नराम्रा सब देख्छ‚ छुन्छ
जान्ने र बुझ्ने म हुँ मात्र भन्छ
सद्भाव बेचेर विकार किन्छ
लाग्दैछ मान्छे हुन बिर्सिइन्छ ।६।
जस्तो छ आफूँ सब देख्नथाल्छ
शंका र कुण्ठा मनभित्र पाल्
छराम्रो छ देख्दा तर रुन्छ भित्र
देखावटी छन् सब इष्टमित्र ।७।
मान्छे नकारात्मक मात्र हेर्
छबोली नराम्रो मुख मात्र फेर्छ
राम्रो भएमा सयचोटि केर्छ
हेपे‚ हकारे अनि मात्र टेर्छ ।८।
केले छ यस्तो परिवेश हाम्रो
के गर्न सक्दा हुनजान्छ राम्रो
मेटे नकारात्मक सोचलाई
होला सबैको अनि पो भलाइ ।९।
२.
जब मानिस बिर्सन थाल्दछ मानवता
छन्द: भ्रमरावली
तन कोमल निर्मल शान्त सुधो छ त जो
दुख दिन्छ‚ पिरोल्छ समाज बनी बलियो
यसरी पथभ्रष्ट भएर त जान्छ कता
जब मानिस बिर्सन थाल्दछ मानवता ।१।
जिउने कसरी सहजै कसको भरमा
असुरक्षित‚ लाञ्छित छिन् तनया घरमा
किन रक्षक भक्षक बन्दछ दुष्ट पिता
जब मानिस बिर्सन थाल्दछ मानवता ।२।
जब फाल्दछ एसिड दुष्ट मुहार भरि
खलकर्म असैह्य छ त्यो सहने कसरी
युवती मन भत्किरहन्छ अनर्थ यहाँ
जब मानिस बिर्सन थाल्दछ मानवता ।३।
परिराख्दछ चोट सधैँ अनुहार भरि
अति चिन्तित छिन् गृहिणी घरमा यसरी
उनको मन शान्त हुने कसरी र कता ?
जब मानिस बिर्सन थाल्दछ मानवता ।४।
बधुले नदिए धन जल्छ शरीर किन?
धनमा मरिमेट्दछ‚ गिर्दछ‚ मार्छ किन?
किन मानव पाल्दछ क्रूर तथा पशुता?
जब मानिस बिर्सन थाल्दछ मानवता ।५।
यदि मारिनु पर्छ अकार्थ बलात्कृत भै
युवती‚ वनिता जगबाट सुरक्षित खै?
यसरी असुरक्षित दुखित छन् दुहिता
जब मानिस बिर्सन थाल्दछ मानवता ।६।
महिला यदि एकल औ कमजोर परे
मलमूत्र खुवाउँछ‚ भन्दछ डायन रे
परित्यक्त र बर्जित यो ननिको छ प्रथा
जब मानिस बिर्सन थाल्दछ मानवता ।७।
यसरी सदियौ कसरी सहने तिनले
हक खोज्दछ त्यो समतामय जीवनले
अब जाग्रित हौं अनि मास्न उठौं क्रुरता
जब मानिस बिर्सन थाल्दछ मानवता ।८।
३.
भित्री संसार
छन्द: उपजाति
यो चित्तको रूप छ भिन्न भिन्न
थाहै बिना बन्दछ झट्ट खिन्न
आफ्नै दुखेको पनि हुन्न पत्तो
आफ्नाहरूबाट थपिन्छ अत्तो।१।
मैले बुझेको मनको चरित्र
आफै छ आफ्नो कटु शत्रुमित्र
जे जे कुरा सञ्चय गर्छ मान्छे
त्यस्तै कुरा दिन्छ र भर्छ मान्छे ।२।
विश्वासमा सङ्कट देखिदैछ
आदर्शको चिन्तन फेरिदैछ
खोलिन्न साँचो मन मित्रलाई
सोचिन्छ यो जीवनको भलाइ ।३।
देखिन्न हाँसो‚ सहबास‚ कार्य
सुन्ने कुरामा पनि हुन्न धैर्य
बिर्स्यो खुसी‚ खिन्न छ यो समाज
बिश्वासिलो मानिस छैन आज।४।
भित्रै हरायो र खुबै करायो
कुण्ठा‚ उदासी मनमा भरायो
यो भित्रको विश्व भयो विचित्र
टेढिन्छ मान्छे तब भित्र भित्र।५।
बद्लिन्छ मान्छे‚ मन बद्लिइन्छ
आफ्नो हुँदो झट्ट छिनेर लिन्छ
मान्छे अनौठो, दुविधा छ धेर
अमूल्य यो जीवन जान्छ खेर।६।
आलोचना गर्छ सुधार छैन
आफै दुखी बन्छ‚ बिगार्छ चैन
औला ठड्याइन्छ असाध्य धेर
उर्जा अनावश्यक जान्छ खेर ।७।
देख्दा छ राम्रो‚ पिर हुन्छ भित्र
यो भित्रको चित्र अझै विचित्र
छाडा छ सारै घिन लाग्छ धेर
हिड्ने कताबाट? सधैं बचेर ।८।
अदृश्य यो घातक विश्वबाट
लुक्दै र छिप्दै पुगिइन्छ घाट
यो भित्रको जीवन हो तिलस्मी
खोजिन्छ भित्रैतिरबाट रश्मि ।९।
विराटनगर