मकवानपुर । मकवानपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सांसद बिरोध खतिवडाले राक्सिराङ गाउँपालिकालाई पूर्ण विद्युतीकरणको पहलकदमी लिएका छन् । नेपाल विद्युत प्राधिकरणमा सांसद खतिवडाको पहलमा चालू आर्थिक बर्षमै कार्यान्वयन हुनेगरी ६ करोड रुपियाँ बिनियोजन भएको छ ।
सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको राक्सिराङ गाउँपालिकालाई विद्युतयुक्त गाउँपालिका बनाउने लक्ष्यका साथ पूर्ण विद्युतीकरणका लागि १५ करोड लाग्ने अनुमान गरिएकाे छ । तर अर्काे बर्ष समेत बजेट प्राप्त हुने गरी हाललाई नेपाल विद्युत प्राधिकरणले ६ करोड रुपियाँ कार्यान्वयनका लागि जिल्ला शाखमा अख्तियारी पत्र पठाएको खतिवडाले जानकारी दिए। ‘पूर्ण विद्युतीकरण यसै बर्ष गर्नका लागि मैले प्रयत्न गरेको थिएँ’, सांसद खतिवडाले भने – ‘कोभिड लगायतका कारणले बजेट यथेष्ट आउन सकेन, अब अर्काे बर्ष पूर्ण विद्युतीकरण हुने गरी काम गर्ने योजनामा छौँ ।’
‘केहीदिन अघि नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयले राक्सिराङ गाउँपालिकामा विद्युतीकरणका लागि अख्तियारी पत्र पठाएको छ’ नेपाल विद्युत प्राधिकरण हेटौँडा बितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले भने- ‘अब लागत इस्टिमेट बनाएर ठेक्का प्रक्रियाय सुरु गरिहाल्छौँ ।’ राक्सिराङ गाउँपालिकाको पूर्ण विद्युतीकरणका लागि १५ करोड रुपियाँ लाग्ने लागतसहित यसअघि सांसद खतिवडाले गाउँपालिकाको माग निवेदन, प्राधिकरणको हेटौँडा बितरण केन्द्र र प्रदेश कार्यालयको सिफारिससहित नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा पहल गरेका थिए । राक्सिराङका बिजुली नपुगेका ४ वटा वडामा पूर्ण विद्युतीकरण र अन्य वडामा काठको पोल बिस्थापन र आंशिक बिजुली बिस्तारको लागत इष्टिमेट बनाइएर माग सहित पेश गरिएकाे थियो ।