मकवानपुर । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि नियुक्त सबै विभागीय र जिल्लाका निर्वाचन अधिकृतहरूलाई २०७७ मङ्सिर २७ गते हुने अर्को निर्वाचनसम्म निरन्तरता दिइने भएकाे छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयबाट ट्रेड युनियनको निर्वाचनका लागि विभागीय र जिल्लाका निर्वाचन अधिकृतहरूलाई निरन्तरता दिने निर्णय भएकाे हाे ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालयले आइतबार गरेको निर्णयअनुसार निर्वाचन अधिकृतहरूलाई २०७७ मङ्सिर २७ गते हुने अर्को निर्वाचनसम्म निरन्तरता दिने निर्णय गरेको हो । नियुक्त निर्वाचन अधिकृतहरूले आफ्नो सरुवा, काज सरुवा वा अन्य कारणले जिम्मेवारी हेरफेर भएमा प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराउन र प्रमुख निर्वाचन अधिकृतले नियुक्त गरेका अन्य कर्मचारीहरूलाई आजैका मितिदेखि लागू हुने गरी फिर्ता गर्न समेत भनेको छ ।
त्यस्तै निर्वाचन कार्यालयको बोर्ड, स्टाम्प, कोठा, मतदाता नामावलीलगायतका निर्वाचन सम्बन्धी स्रेस्ता एवं सामाग्री आगामी निर्वाचनको लागि पुनः प्रयोगमा ल्याउने गरी सुरक्षित राख्नसमेत भनेको छ ।
निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन असोज २४ गते हुने गरी तयारी गरिएकाे भए पनि निर्वाचन अनिश्चितकालका लागि स्थगित गर्दै ‘अर्को निर्वाचन नहुन्जेलसम्म आधिकारिक ट्रेड युनियनको समय २०७८ वैशाख मसान्तसम्म थप्ने’ असाेज ६ गतेकाे मन्त्रिपरिषद् बैठकले निर्णय गरेकाे थियाे । तर सरकारले साे निर्णय सच्याउँदै मङ्सिर २७ गते निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन तोकेकाे छ।