मकवानपुर । कोरोना भाइरसको संक्रमण फैलन नदिन संघीय सरकार तथा स्थानीय सरकारले गरेको ६ महिनाबढी बन्दाबन्दीको अवस्था झेलेका नागरिकहरु फेरि तर्सिएका छन् ।
बुधबार स्वास्थ्य मन्त्रालयको निर्णयपछि आफूहरुलाई फेरी चिन्ता बढेको हेटौंडामा मजदुर काम गर्दै आएका कमल लामाले बताए । ‘मजदुरी नगरी परिवार पाल्ने आधार छैन, धेरै कष्ट गरेर विगतका दिन बिताइयो, काम सुरु गरिएको एक साता हुँदैछ, फेरि पनि बन्द हुने हल्ला सुन्दैछु’ उनले भने ‘बाँच्न नसकिने भयो अब यो पाराले ।’ रोग लागेर भन्दा भोक भोकै बस्न परेको कारण आफ्ना बालबालिकाहरु बिरामी पर्ने अवस्थामा पुगेको उनले बताए ।
बुधबार स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा लकडाउन गर्न सिफारिस गरेको छ । नेपालको स्वास्थ्य सेवाले २५ हजारभन्दा बढी सक्रिय संक्रमितलाई व्यवस्थापन गर्न समस्या हुने भएकोले २५ हजार संक्रमित नाघ्नासाथ लकडाउन गर्न सिफारिस गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी गराएका हुन् । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार बुधबार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार चार सय १४ रहेको छ । बुधबार बिहान बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमले जनस्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सरकारलाई सिफारिस गरेको छ ।
विभिन्न अस्पताल र प्रयोगशालाहरुले तोकिएभन्दा बढी शूल्क लिने गरेकोमा स्वीकृति दिने निकायले कडाइका साथ अनुगमन गरी कारबाही गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ । यसअघि गएको चैत ११ गतेदेखि लगाइएको लकडाउन साउन ६ गते मध्य रातिबाट हटाइएको थियो । बुधबारसम्म नेपालमा १७ हजार चार सय ११ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार एक सय चार जना क्वरेण्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।