मकवानपुर। हेटौंडाबाट काठमाडाैं जाने तीन वटा सडक अवरुद्ध भएको छ । त्रिभुवनराजपथ भने खुल्ला छ । हेटौंडाबाट काठमाण्डौ जाने सवै सवारीका साधनहरु अहिले त्रिभुवनराजपथ भएर चलेका छन् ।
काठमाडाैं जाने छोटो दुरीको मार्ग अन्तरगत इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ देउरालीमा पहिरो लडेर सडक अवरुद्ध भएको छ । पहिराेका कारण सवारीका साधन ओहोर दोहोर गर्न बुधबार देखिनै नपाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले वताए। त्यसैगरी हेटौंडाबाट काठमाडाैं जाने कान्तिलोकपथकाे ठाउँ ठाउँमा पहिरो लडेको र सडक भासिएका कारण अवरुद्ध भएको छ ।
नारायणगढ-मुग्लिन सडक खण्ड पहिरोको कारण अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको हो ।
जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टकाअनुसार राति लेदोसहित पहिरो खसेका कारण सडक अबरुद्ध भएको हो । सोहि स्थानमा बुधबार दिउँसो ४ः३० बजे पहिरो खसेको थियो । पहिरो पन्छाएपछि साँझ ७ बजेदेखि सडक सञ्चालन गरिएको थियो ।