मकवानपुर/कोरोना भाइरस (कोभिड–१९)को माहामारीपछि वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई स्वदेशमै टिकाउन रोजगारीको व्यवस्था गर्न माग भइरहेको बेला बागमती प्रदेश सरकारले यसतर्फ ध्यान दिएको छ ।
बागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने भएको हो । बुधबार बसको मन्त्री परिषदको बैठकले कृषि, उद्योग, व्यापार व्यवसायसँग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानी कार्यक्रमलाई व्यवस्थित, सरल, सहज, प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन कार्यविधि समेत पास गरेको छ । कार्यविधि अनुसार स्थानीय तहले सिफारिस गरेका आर्थिक रूपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका लागि सहुलियतपूर्ण ३ अर्ब ऋण लगानी गरीने आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुगेलले जानकारी दिए । कृषि विकास बैंक मार्फत हुने लगानीले देशमा रोजगार र व्यवसाय बढ्ने सरकारले अपेक्षा गरेको छ । ग्रामिण भेगका बारीहरु प्रयोग विहिन रहेपछि प्रदेश सरकारले यस्ता जग्गा उपयोग गर्नको लागि यसअघि नै विभिन्न कार्यक्रममार्फत प्रेरित गर्दै आएको छ ।
बुधबार भएको निर्णय अनुसारको लगानी पश्चात सरकारले बेरोजगार युवा जनशक्तिहरुलाई रोजगारमा आवद्ध गर्ने, फोहरमैला व्यवस्थापन गर्ने, महिला तथा दलित समुदायको उद्यमशीलतालाई प्रवद्र्धन गर्ने, उत्पादनशील कार्यक्रमको लागि लगानी प्रवर्द्वन गर्ने, कोरोना भाइरसबाट प्रभावित कृषि, पर्यटन एवंम् जगारीमूलक घरेलु तथा लघु उद्योग व्यवसायीलाई पुनर्उत्थान गरीने मन्त्री ढुगेलले जानकारी दिए ।
सहुलियतपूर्ण व्याजदरमा ऋण लगानी कार्यक्रम कार्यान्वयनको नीतिगत विषयमा आवश्यक निर्देशनका लागी सम्बन्धित मन्त्रालयका मन्त्री संयोजक हुनेगरी निर्देशक समिति रहने छ । यसैगरी ऋण लगानी प्रकृया सहजीकरण तथा समन्वय गर्नका लागि सम्बन्धित मन्त्रालयका सचिव संयोजक रहनेगरी समिति बनाइएको मुख्य मन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।
प्रदेशले कृषि व्यवसाय सम्बन्धी उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरण सम्बन्धी, उद्योग व्यवसाय,पर्यटन प्रवद्र्धन, व्यापार व्यवसाय, वन तथा वातावरण जन्य उद्योग,महिला उद्यमशीलता,दलित समुदाय व्यवसाय विकास र फोहरमैला व्यवस्थापन तर्फ ऋण लगानी गर्ने भएको छ ।
यसै गरी बिहीबार बसेको बैठकले नै प्रहरी इकाई भवन निर्माणार्थ बजेट निकासा गर्न स्वीकृत गर्ने पनि निर्णय गरेको छ । यसैगरी प्रदेश विश्वविद्यालयको भौतिक पुर्वाधार, विधेयक, सङ्गठानात्मक संरचना, तथा पाठ्यक्रमको आधारभुत संरचना समेतका लागि सिफारिस गर्न कार्यदल गठन गरी काम कर्तव्य र अधिकार स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता मन्त्री ढुङ्गेलले जानकारी दिए ।
प्रदेश सरकारको यो निर्णयले विपन्न तथा बेरोजगार युवाहरुलाई स्वदेशमै काम गर्ने अवसर सिर्जना गर्ने भएकोलो चाँडै कार्यन्वयन गर्न र यस्ता कार्याक्रममा राजनीतिक भागबण्डा नगरि सबै नागरिकलाई सामान अवसर प्रदान गर्नु पर्ने मकवानपुरका युवा जयराम खड्काले सहीखबसँग बताए । ‘प्रदेश सरकारको यो निर्णयले आशा त जगाएको छ, तर भोली यसैले निराशा नल्याओस’ उनले भने ।