मकवानपुर । सरकारले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरेको छ । मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आगामी असोज २४ गतेलाई तोकिएको कर्मचारीको निर्वाचन स्थगित गर्ने निर्णय गरेको हाे ।
साउन ५ गते सरकारले कानुनका सहसचिव कलानिधि पौडेललाई प्रमुख निर्वाचन अधिकृत तोक्दै असोज २४ गतेको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिएको थियो । ट्रेड युनियन निर्वाचनकाे कानुनी अड्चनकाबिच कार्यतालिका प्रकाशित गरी निर्वाचनका लागि आवश्यक सबै तयारी र प्रक्रियाहरू पुरा भई सकेकाे बताइएकाे छ ।

सारिएको मिति नतोकिएकोले यसपछि निर्वाचन कहिले हुने भन्ने अन्यौल छ । मन्त्रालयले सोमबार पठाएको प्रस्तावमा निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको म्याद अर्को चुनाव नहुन्जेलसम्म या बढीमा २०७८ वैशाख मसान्तसम्म थप्ने उल्लेख छ ।
युनियनकाे चुनाव राेक्न माग गर्दै मधेसी निजामती कर्मचारी मञ्चले साेमबार सर्वाेच्च अदालत मा रिट दर्ता गरेकाे थियाे । साेमबार नै प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्वाचन स्थगित गर्न पत्राचारसमेत गरेका थिए ।