मकवानपुर/‘विपदमा बाल अधिकारको सुनिश्चितता ः हामी सबैको साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आज विविध कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाइएको छ । हेटौंडा उपमहानगरपालिका बालअधिकार समितिको निर्णय अनुरुप हेटौंडामा अन्तर बालगृहहरु बिच चित्रकला प्रतियोगिता गरिएको छ । कोभिड–१९ ले बालबालिकामा पारेको असरका विषयमा प्रतियोगिता गरिएको नगर बाल अधिकार समिति सदस्य झबिन्द्र ज्ञवालीले बताए ।
हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा सिविन नेपाल र बालगृहहरुको सञ्जाल (सिनेट) मकवानपुरको समन्वयमा प्रतियोगित गरिएको हो । मकवानपुरका १० वटा बालगृहहरु, नारी संरक्षण केन्द्र हेटौंडा ४, एस्थर बेन्जामिन मेमोरियल फाउनण्डेसन हेटौंडा ४, हाम्रो घर हेटौंडा ५, आशिषमय बालगृह हेटौंडा ९, मामाघर नेपाल हेटौंडा ११, अनाथ अपाङ् बाल पुनस्र्थापना केन्द्र हेटौंडा १४, आशा नेपाल हेटौंडा ४, ज्योतिको घर नेपाल हेटौंडा १६, नेपाल बाल संगठन भिमफेदी शान्त घर हेटौंडा ११ मा रहदै आएकाहरु मध्येबाट १९ जना बालबालिकाहरुले प्रतियोगितमा सहभागिता जनाएका थिए । प्रतियोगितामा नारी संरक्षण केन्द्रकी मार्था प्रजा प्रथम, नेपाल बाल संगठन भिमफेदीका राजु थापा मगर द्धितीय र मामाघर नेपाल मकवानपुरका सुमन अछामी तृतीय भएको प्रतियोगिताका प्रमुख निर्णायक सूर्य नारायण श्रेष्ठले जानकारी दिए ।
बिजेताहरु र सहभागी बालबालिकाहरुलाई प्रोत्साहन स्वरुप सिविन मकवानपुरले पुरस्कारको व्यवस्थापन गरिएको हेटौंडा उपमहानगरपालिकाका प्रमुख महिला विकास अधिकृत विष्णु कुमारी लामिछानेले बताइन् । दुई चरणमा सम्पन्न चित्रकला प्रतियोगितामा प्रथम चरणमा सबै बालगृहहरुले आआफ्नो बालगृहमा रहेका सबै बालबालिकाहरु बिच आन्तरिक प्रतिस्पर्धा गराइ त्यस मध्ये २ उत्कृष्ट चित्रलाई छनोट गरी दोस्रो चरणमा १० वटै बालगृहका ती उत्कृष्ट चित्रहरु बिच प्रतिस्पर्धा भई अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।
त्यस्तै बकैया गाउँपालिका वडा नं. ५ कर्मचुलीमा पनि किशोरीहरुको पहलमा बालबालिकाहरु बिच वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । “बालबालिकाको बाल अधिकार” भन्ने विषयमा आयोजित प्रतियोगिता गन्तव्य किशोरी समूहको आयोजना र सिविन मकवानपुरको सहयोगमा भएको गन्तव्य किशोरकिशोरी सशक्तिकरण केन्द्रकी सहजकर्ता सुनिता मोक्तानले बताइन् । किशोरी समूह अध्यक्ष मन्दिरा दोङको सभाध्यक्षतामा सम्पन्न प्रतियोगितामा ११ जना बालबालिकाहरुको सहभागिता रहेको समूहकी सचिव नेहा लामाले बताइन् । प्रतियोगितामा विजयी हुनेहरुमा बिनिता लकाई प्रथम, आशिका दोङ द्धितीय र सृष्टि मगर तृतीय भएका भएका थिए ।