मकवानपुर / नेकपा मकवानपुरकी अध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलले नेकपा पार्टी नेपालीहरुको सबैभन्दा भरपर्दो पार्टी भएको बताएकी छिन् । मकवानपुरको मनहरी गाउँपालिकामा बुधबार नेपाली काँग्रेस र नयाँ शत्तिका कार्यकर्ताहरुले पार्टी त्याग गरी नेकपामा प्रवेश गरेकाहरुलाई स्वागत गर्दै उनले यस्तो बताएकी हुन् ।
नेपाली काँग्रेस र नयाँ शत्ति आवद्ध रहदै आएका १ सय ३६ जनाले विगतमा आवद्ध रहदै आएको पार्टी त्याग गरेर बुधबार नेकपामा प्रवेश गरेका हुन् । मनहरी गाउँपालिका एक नम्बर वडामा नेपाली काँग्रेस तथा नयाँ शक्तीबाट विमल स्याङतान र पवित्रा कार्कीको नेतृत्वमा उनीहरु नेकपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्दै सिग्देलले नेकपा सबै वर्गको प्रतिनिधित्व गर्ने जनताको पार्टी भएको बताईन् । उनले सरकार सञ्चालन र पार्टी भित्रको सानातिना समस्यालाई बाहिर ठुलो समस्या भन्दै प्रचार गरेको बताउँदै त्यस्तो भ्रममा नरहन कार्यकर्ताहरुलाई आग्रह समेत गरिन् । नेकपाले जहिले पनि किसान, मजदुरको सर्वहारा वर्गको मुद्दा उठाईरहेको भन्दै जनताको हितमा सँधै लाग्ने बताएकी हुन् ।
नेकपा मनहरी गाउँपालिका १ नम्बर वडाका वडाध्यक्ष पोषण विष्टको अध्यक्षतमा भएको कार्यक्रममा बोल्दै नेकपा मकवानपुरका सचिव तथा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले चुनाव जित्न युवाहरुलाई डोजरको सपना देखाएर मकवानपुरमा केहि ठेकेदारले युवाको परिवार ध्वस्त पारेको भन्दै सचेत भएर अगाडी बढ्नु पर्ने बताए । उनले राजनीति जनताको पक्षमा गर्नु पर्ने भन्दै पैसाको भरमा राजनीति गर्ने ठेकेदार, व्यापारीहरुले जनताको कुरा नउठाउने बताएका थिए । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य ओम बहादुर ग्लान, नेकपा मकवानपुरका सचिवालय सदस्य बनस्थम थिङ, नेकपा मनहरी गाउँपालिका अध्यक्ष रामप्रसाद कालाखेती सहित नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।


तस्बिरहरू साैजन्य: पत्रकार शिवकुमार काशी