मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा शनिबार बृहत् रक्तदान कार्यक्रम अायाेजना गरिएकाे छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी मनहरी गाउँपालिका कमिटी र सामुदायिक रेडियो मनहरी एफएमले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा १२५ जनाले रक्तदान गरेका छन् ।
यो संख्या चालू आर्थिक बर्ष २०७७।७८ मा भएका रक्तदान कार्यक्रममध्येको सबैभन्दा बढी रहेको रक्त सञ्चार केन्द्र हेटौँडाले जनाएको छ । यसअघि २०७७ साउन यता मुस्लिम युवा समाजले ६७ जनाको रगत संकलन गरेको थियो ।
नेपालमा रेडक्रस स्थापनाको ५८ बर्ष पुगेको अबसर तथा कोरोना संक्रमणका बेला भएको रगत अभावलाई ध्यानमा राखी रक्तदान कार्यक्रम आयोजना भएको हो । अन्य थुप्रै युवाहरु रक्तदानका लागि तयार भएपनि रगत राख्ने ब्यागको अभावमा १२५ जनाको मात्रै रगत संकलन गर्न सकिएको आयोजक एकेडेमीका अध्यक्ष पुकार सुवेदीले बताए ।
कार्यक्रममा मनहरी गाउँपालिकाका सबै वडाहरु, राक्सिराङ र कैलाश गाउँपालिकाका युवाहरु समेत सहभागी भएका थिए । लामो समयपछि औपचारिक कार्यक्रममा सहभागी भएका युवाहरुले देशलाई अफ्ठ्यारो परेका बेला रगत दिएर सहयोग गर्न तत्पर रहेको बताएका थिए ।
रक्तदानअघि आयोजित छोटो औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य ओमबहादुर ग्लानले रगतको बिकल्प अहिलेसम्म पत्ता लाग्न नसकेको प्रसंग सुनाउँदै मानवीय हिसावले रक्तदान गर्नुजत्तिको पुण्य काम अर्काे नभएको बताए । मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले संकटका बेला युवाहरुको सक्रियतामा आयोजना भएको रक्तदान कार्यक्रमले सामाजिक क्षेत्रमा युवाहरुको अग्रसरता देखिने भन्दै प्रशंशा गरे ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका कार्यबाहक सभापति लालबहादुर थापा, मन्त्री खेमराज सापकोटा, कोषाध्यक्ष पिताम्बर बास्तोला, कार्यालय प्रमुख लक्ष्मण भट्राई, रक्त सञ्चार केन्द्र प्रमुख टंक दाहाल, वडाध्यक्षहरु साधुराम अधिकारी, दिलबहादुर स्याङ्तान, राक्सिराङ गाउँपालिका ३ नं वडाध्यक्ष बाबुलाल स्याङ्तान, इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख श्री शंकर श्रेष्ठ, शसस्त्र प्रहरी आइआरटी पोष्टका प्रमुख मानबहादुर खड्का, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति सभापति नारायण सुवेदी लगायतको सहभागिता रहेको थियो । एकेडेमीका अध्यक्ष पुकार सुवेदीले कार्यक्रमको सभाध्यक्षता गरेका थिए ।