मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोरोनाबाट आफु जोगिएर समुदायलाई जोगाउने तर्फ लाग्न सबैलाई आग्रह गरेका छन् । शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ का निर्वाचित जनप्रतिनिधि, राजनीतीक दलका प्रतिनिधि, टोलविकासका प्रतिनिधि, स्वास्थ्यकर्मी संगको भेटघाटका क्रममा उनले स्वास्थ्य मापदण्डको पालना गर्ने र गराउने कुरामा जोड दिँदै कोरोनाबाट जोगिने र जोगाउने तर्फ सबैलाई लाग्न आग्रह गरेका हुन ।
समुदायमा कोरोनाले पारेको प्रभाव र नियन्त्रणकालागि भए गरेका कामहरुको जानकारी लिने तथा आवश्यक परामर्श र सल्लाह आदान प्रदान गर्ने उदेश्यले बिगत केहि दिनदेखि प्रमुख खुलालले नियमित रुपमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाहरुमा छलफल कार्यक्रमलाई निरन्तरता दिएका छन् । सोहि क्रममा शुक्रबार १९ नम्बर वडा अध्यक्षलगायत अन्य निर्वाचित जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, टोलविकास संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मीलगायतसंग छलफल गरेका हुन ।
सो क्रममा उनले समुदायमा जनचेतना अभिबृद्धि गर्ने, सामाजिक बिकृति फैलन नदिने, सामाजिक सद्भाव कायम राख्ने, स्वास्थय सम्बन्धी मापदण्डको पालना गर्ने र गर्न लगाउने कुरामा विशेष भूमिका खेल्न सम्पुर्णलाई आग्रह गरे । ‘बिशेष गरी सामाजिक दुरी,व्यक्ति–व्यक्तिबीचको दुरी कम्तीमा दुई मिटरको कायम गर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क लगाए निस्कने, साबुन पानीले नियमित हात धुने वा स्यानिटाइजरमार्फत हात सफा गरेमा कोरोनाको जोखिम धेरै कम हुने हुँदा समुदायमा यसबारेमा सचेतना अभिबृद्धिमा लाग्नुहोस’ उनले भने । समुदायमा संक्रमितलाई गरिने दव्र्यवहारलाई निरुत्साहित गर्ने र समाजिक सद्भाव कायम राख्न सचेतना अभिबृद्धि गर्ने कुरामा लाग्न उनले सबैलाई आग्रह गरे ।
छलफलकामा १९ नम्बर वडा अध्यक्ष नवराज सुवेदीले वडाको समग्र अवस्थाका बारेमा जानकारी दिँदै वडाहरुमा अभिभावकत्वको कमि महसुस गरेको बताए । सुवेदीले हाल सम्म वडाका १२ जनामाकोरोना संक्रमण पुष्टि भएको तथा दुई जनाको कोरोनाबाट ज्यान गएको र संक्रमित अन्यलाई होम आइसोलेसनमै राखिएको जानकारी दिँदै वडा स्तरबाट कोरोना नियन्त्रणका लागि सक्दो प्रयास भएको बताए । माथिल्लो निकायबाट कोरोना नियन्त्रणका लागि वडा कार्यालयलाई सहयोग प्राप्त नहुँदा केहि समस्या भएको उनले बताए । उनले वडामा जनप्रतिनिधिको नेतृत्वमा, राजनैतिक दलका प्रतिनिधि, टोल विकास समितिका प्रतिनिधिलगायतको समिति गठन गरेर काम गरेको जानकारी दिए ।
कोरोनाको महामारीपछि पहिलो पटक जिसस प्रमुख आउनुभएर वडाको अवस्था बुझ्नुका भएकोमा धन्यवाद दिँदै यसले आफुहरुलाई काम गर्न थप हौसला मिलेको उनले बताए । सो क्रममा प्रमुख खुलालले १९ नम्बर वडामा कोरोना संक्रमणबाट स्वर्गारोहण हुनुभएका परिवारका सदस्यहरुसंग समेत भौतिक दुरी कायम गरेर भेटघाट समेत गरेका थिए।