मकवानपुर । बागमती प्रदेश सरकारले आफ्नो मातहतमा अस्पताल नभएका जिल्लाका अस्पताललाई स्तरोन्नती गर्ने निर्णय गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतमा मंगलबार बसेको बैठकले प्रदेश मातहत नभएका जिल्लाको स्थानीय तहमा रहेका अस्पतालहरुको स्तरोन्नती गर्ने निर्णय गरेको हो ।
हाल ८ वटा जिल्लामा मात्र प्रदेश मातहतका अस्पतालहरु रहेका छन् । दोलखा, काभ्रे, काठमाण्डौ, ललितपुर र चितवनमा प्रदेश मातहतका अस्पताल छैनन् ।

यसैगरी बैठकले पर्यटन ब्यबसायको इजाजत नवीकरण तथा जरिवाना , विलम्ब दस्तुरमा छुट दिने पनि निर्णय गरेको छ । प्रदेश पर्यटन बिकास सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयक, प्रदेश राजपत्र प्रकाशन सम्बन्धी (पहिलो संसोधन) निर्देशिका २०७७, दुध पाउडर प्लान्ट निर्माणका लागि जग्गा भोगचलन स्विकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।
यस्तै महिला बिकास प्रशिक्षण केन्द्र ललितपुरको संरचना प्रदेश मातहत ल्याउने र प्रदेश मातहत रहने आयोजनाहरुको अस्थायी दरबन्दी स्विकृत गर्ने निर्णय गरेको पनि मन्त्री ढुंगेलले बताए ।