मकवानपुर । कोरोना संक्रमितहरुले आफूलाई होम आइसोलेशनमा सुरक्षित राख्ने भनेेेको तर जथाभावी हिडेको गुनासो छिमेकबाट आएपछि मकवानपुरको हेटौंडा उपमहानगरपालिका भित्रका संक्रमितको फोन ट्रयाकिङ सुरु गरिएको छ ।
छुट्टै कोठा, शौचालयलगायतको सबै प्रकारको भौतिक व्यवस्था तथा भौतिक दुरी कायम राख्दै होम आइसोलेशनमा बस्ने भनेर सामुदायिक आइसोलेशनमा नगएका संक्रमितहरुले न्युनतम मापदण्ड पुरा नगरेको गुनासो टोलका छिमेकबाट आएपछि होम आइसोलेसनमा बसेकाको ट्रयाकिङ थालेको छ ।
संक्रमितको सम्पर्कमा पुगेकाको हेटौंडा अस्पतालबाट मोवाइल एप मार्फत ट्रयाकिङको काम सुरु गरिएको हो । फोनबाट ट्रयाकिङको काम सुरु गरिएको हेटौंडा अस्पतालका सुपरीटेण्डेन डाक्टर प्रविण श्रेष्ठले बताए । हेटौंडाका सबै वडामा एप मार्फत संक्रमितको अवस्था पत्ता लगाउनका लागि ट्रयाकिङ सुरु गरिएको बताइएको छ । सुपरीटेण्डेन डाक्टर श्रेष्ठका अनुसार उपमहागरको वडा ४, १ र ६ मा यो काम सुरु भैसकेको छ ।
यसै बिच उपमहानगरमा कोरोना संक्रमित बढ्दै गएपछि सचेतना अभिवृद्धि गर्नको लागि हेटौंडा उपमहानगरले सबै वडामा टोली परिचालन गरको छ । दैनिक रुपमा संक्रमणको दर बढ्दै गएपछि वडा स्तरमै टोली परिचालन गरेको उपमहानगरका मेयर हरीबहादुर महतले बताए । वडा स्तरबाटै जनचेतनाका जानकारीसँगै संक्रमितको र परिवारको अवस्था बुझने र आवश्यक सहयोगको लागि वडा अध्यक्षको नेतृत्वमा जनप्रतिनिधिको टोली परिचालन गरिएको मेयर महतले बताए । ‘उपमहानगरभित्र संक्रमित भएर होम आइसोलेसनमा रहेकाको मनोभावना बलियो बनाउन र हौसला बढाउनका लागि घरघरमा जानका थालेका हौं’ मेयर महतले भने । वडाका प्रतिनिधिहरु घरमै पुगेर दुरी कायम गरेर भेट्न भनिएको उनले बताए ।

शनिबार साँझसम्म उपमहानगरमा २ सय ८१ जना संक्रमण पुष्टि भएको छ । जोखिमका अवस्था हेर्दा संक्रमितहरु उपमहानगरको ४, ५, १०, ९, ६ बढि मात्रामा छन् । उपमहानगरमा २ सय जना होम आइसोलेसनमा रहेको उनले जानकारी छन् । बिशेषगरी हेटौंडाको बजार क्षेत्रमा कोरोना संक्रमितको अवस्था बुझ्नका लागि वडा अध्यक्षको नेतृत्वमा होम आइसोलेसनमा बसेका संक्रमितको अवस्था, स्वास्थ्यमा परेका समस्या, परिवार, छिमेकले गर्ने व्यावहारका बारेमा बुझ्नका लागि टोलि परिचालन गरिएको उपमेयर मिना कुमारी लामाले बताइन् ।
संक्रमितको दर अनुसार सबै वडामा मेयर र उपमेयर पुग्न संभव नभएपछि वडा तहबाटै टोली परिचालन गरिएको उनले बताइन् । केही बृद्धबृद्धाको अवस्था बुझ्न र हौसला बढाउनका लागि मेयर महत आफै पुग्ने गरेका छन् । मेयर महत, उपमेयर मिना कुमारी लामा हेटौंडाको बसपार्क, टिसीएनरोड, आनन्दटोल लगायतका क्षेत्रमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको अवस्था बुझन गएका थिए ।