मकवानपुर / लकडाउनको कारण व्यापार व्यवसाय बन्द भएको छ । नोकरीको भरमा जीविकोपार्जन गर्दै आएकाहरुलाई नोकरी गुम्ने चिन्ताले पिरोलिरहेको छ । तर मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१८ हर्नामाडी ठुलोदमारका एक समुह युवालाई भने कोरोना संक्रमणपछिको लकडाउन तथा निषेधाज्ञाले काममा कुनै असर पु-याएको छैन ।
युवा रविन श्रेष्ठ एक उदाहरण हुन् । बजारको भीडभाडभन्दा केही पर व्यवसायीक मेवा खेतीमा तल्लिन छन् उनी । उनीसँगै हर्नामाडी ठुलोदमारका युवा कुमार महत,रोज बहादुर अधिकारी (जीवन), अनिल गोपाली, गणेश महत, दावा लामा, बिरेन्द्र पाण्डेको समूह जग्गा भाडामा मेवा खेतिमा जुटेका छ्न । उनिहरु अहिले मेवा खेतीको गोडमेल तथा सिँचाईमा व्यस्त देखिन्छन् । निर्वाहमुखि खेतीबाट माथि उठेर व्यवसायिक बन्ने यि युवाहरुले आफ्नो वरपरका युवाहरुलाई समेत प्रेरीत गरेको स्थानीय तथा हेटौंडा–१८ का वडा अध्यक्ष अनिला बानियाँले बताए ।
“महामारीको कारण निषेधाज्ञा छ, हामीले आपसी भौतिक दुरी कामय गर्दै मेवा खेतीको रेखदेख गर्ने काम गरिरहेका छौं” समूहका सदस्य रविन श्रेष्ठले भने । उनका अनुसार चैतको पहिलो सातामा कालिका उद्यमी मेवा पकेट समुहले पहिलो चरणको बिरुवा रोपेको थियो । १२ हजार बिरुवा रोपेको मध्ये झण्डै २५ प्रतिशत बिरुवा मरेको र दक्ष प्राविधिकाको अभावले आफूहरुलाई बिरुवा बचाउन कृषि ज्ञानको कमि भएको सदस्य श्रेष्ठले बताए । कृषि प्राविधिक नभएकाेले बिरूवाकाे सुरक्षा गर्नमा केही समस्या भएकाे श्रष्ठले बताए ।
समूहका सदस्य गणेश महतका अनुसार अहिले मल हाल्ने, गोडमेल गर्ने र हाते ट्रायक्टर लगाउने काम भईरहेको छ । समुहले ७ विगाह जमिनमा सुरु गरेको मेवा खेती अहिले लोभ लाग्दो हुँदै आएको छ । समूहका मध्य ६ जना सदस्यहरुले छुट्टै साँढे २ विगाह जमिन भाडामा लिएर पनि मेवाकै खेती गरेका छन् । अघिल्लो लटमा लगाइएका बिरुवा फल थालेका छन् भने पछिल्लो लटमा लगाइएका बिरुवामा फूल फुल्न थालेका छन् ।
१७ लाख ९१ हजार ४ सय लगानीमा मेवा खेती सुरु गरिएको हो । व्यवसायिक मेवा खेतीको लागि कृषि ज्ञान केन्द्र चितवनले ५० प्रतिशत अनुदान दिएको थियो । एक पटक लगाएको बिरुवाले तीन वर्षसम्म फल दिने र पहिलो वर्ष नै १५ देखि २० लाख आम्दानी हुने समूहका सचिव कुमार महतले बताए । तर कोरोना संक्रमणपछि लगातार जारी निषेधाज्ञाको कारण विक्री प्रभावित हुनसक्नेमा चिन्ता रहेको उनले बताए ।
मेवा विक्रीको लागि हेटौंडा, चितवन, वीरगंज, काठमाडौं लगायतको बजारमा माग बढी रहेको महतले बताए । बजारमा बढ्दो माग र उत्पादन कम भएको अवस्थामा र भारतीय मेवाले नेपाली बजारमा कब्जा जमाएका कारण पूँजी पलायन रोक्ने प्रयास स्वरुप आफूहरुले मेवा खेती सुरु गरेको कालिका उद्यमी मेवा पकेट समूहका सदस्य समेत रहेका रविन श्रेष्ठले भने । आगामी वर्षदेखि मेवा खेती विस्तार हुने किसान समुहले बताएका छन् ।
खेतीको लागि नियमित रेखदेख गर्न २ जना जनशक्ति जिल्ला बाहिरबाट ल्याइएको छ भने समूहका सबै सदस्यहरुले प्रत्यक्ष रोजगारी पाएका छन् । ‘लगन भए स्वदेशमै सुन फलाउन सकिन्छ’ भन्ने लागेर यतातिर लागियो” ६ वर्षभन्दा बढी वैदेशिक रोजगारीमा संलग्न भएर फर्केका हाल समूहमै आबद्ध भएरव्यवसायीक मेला खेतीमा लागेका गणेश महतले बताए ।
नेपाली बजारमा ९५ प्रतिशत ओगटेको भारतीय मेवाका कारण नेपाली पूँजी पलायन हुन थालेकाले हामी नेपालीले नै केहि गर्नुपर्छ भन्नेका साथ यस व्यवसायको सुरुवात गरेको सचिव महतले भने ।एउटा मेवाको बोटबाट एक सिजनमा ४० र ५०केजी फल लिन सकिने र एउटै बोटबाट २ वर्षसम्म आम्दानी लिन सकिने भएकाले यो व्यवसाय फाइदाजनक छ । समुहका सचिव महतका अनुसार मेवामा प्राङ्गारिक मलको मात्रै प्रयोग गरिएको छ ।
मेवा खेतीमा कम लगानीमै धेरै उत्पादन गर्न सकिने हुँदा समूहले सोचविचार गरेरै मेवाको व्यावसायिक खेती सुरु गरेको महतले बताए । यस क्षेत्रको माटो मेवा खेतीका लागि उर्वर रहेको बताँउदै उनले दोमट र चिम्ट्याइलो कालो माटोमा फस्टाउने भएकाले मेवाखेती हुने बताए ।
गुलियो र पोषिलो यो फललाई फलफूलको ‘राजा’ मानिन्छ । तर मकवानपुरमा मेवाको व्यवसायीक खेती गर्नमा भने धेरैले चासो देखाएको पाइदैन । जिल्लाको पदमपोखरी र हर्नामाडीका केही युवाले मेवाको व्यवसायिक खेतीमा चासो देखाएका छन् ।
हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरीमा पनि केही युवाहरुले व्यवसायीक मेवा खेती गरेका छन् । मकै र कोदोमात्र फल्ने खेतवारीमा मेवा, खर्वुजा जस्ता खेती गरेर आम्दानी गर्न थालेको पदमपोखरीका युवा सुरज थिङले बताए । उनले भारतबाट आउने रेडलेडि जातको मेवा लगाएका हुन् । “३० हजार लगानीबाट सुरु गरेको मेवा खेतीबाट चार लाख आम्दानी गर्न सफल भएँ” उनले भने । आम्दानी राम्रो नहोला भनेर सुरुमा २ कठ्ठा जमिनमा मात्रै लगाएको र व्यवसाय राम्र भएपछि हाल ५ विगाहा मेवा खेती गरिरहेको उनले बताए । मेवाबाट कमाई राम्रै भएकाले अरु जग्गामा पनि लगाएको थिङले बताए । यो प्रजातिको मेवा एक पटक लगाएपछि २ वर्षसम्म फल दिने उनले बताए ।
“बारिमा मकै लाउन एक वर्ष कुर्न पर्ने र आम्दानी पनि नहुने हुँदा मकै, कोदोभन्दा धेरै राम्रो मेवा हो” उनले भने । एउटा बोटमा ३० देखि ५० केजी सम्म फल्ने गरेको छ । उनले फलाएको मेवा किलोको सय रुपियामा बेच्ने गरेको उनले बताए । सिजनमा दैनिक १० देखि १२ टन सम्म विक्री हुने गरेको उनले बताए । लकडाउनको सुरु भएको समयमा मेवा विक्री वितरण गर्न धेरै समस्या भएको र अहिले सामाजिक संजालबाट होम डेलिभरीको लागि माग हुने हुँदा विक्री गर्न सजिलो भएको थिङले बताए ।
बागमती प्रदेश सरकारले चक्लाबन्दी व्यवसायिक खेतीको लागि युवाजनशक्तिलाई प्रोत्साहन गर्दै आएको छ । ग्रामिण तथा शहरी क्षेत्रका यस्ता ऊर्जाशिल जनशक्तिमा प्रदेश सरकारले लगानी बढाएर प्रेरित गर्ने हो भने युवा शक्ति पलायन हुनबाट बचाउन सकिने हेटौंडा उपमहानगरपालिका उपप्रमुख मिना कुमारी लामाले बताइन् । युवालाई प्रेरित गर्नको लागि स्थानीय सरकारले पनि पहल गर्ने उनले बताइन् ।
यस कारण मेवा गुणकारी
मेवाको केवल फल मात्र होइन पूरै रुख नै औषधिय गुणले युक्त छ । उच्च रक्तचापका रोगीले दैनिक एउटा काँचो मेवा खानु लाभदायक मानिन्छ । मेवामा भिटामिन ए अन्य फलमा भन्दा उच्च पाइन्छ । मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिन ए, कार्बोहाइड्रेट तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ । मेवामा थोरै क्यालोरी, धेरै पौष्टिक तत्व हुन्छ । त्यसैले मेवालाई मोटोपन घटाउन मेवाको सेवन पनि गरेको पाइन्छ ।
कब्जियत र अपच भएको बेला मेवाको सेवन गर्नाले राहत मिल्छ । टुक्रा पारिएको मेवाले छालाको घाउ र चोटपटक लागेको ठाउँमा लगाएमा निको पार्छ । यदि मेवा सहि मात्रामा खाने गरेमा यसले मानिस शरिरको रोगहरुबाट छुटकारा दिन्छ । यसको नियमित प्रयोगले क्यानसर हुनबाट समेत जोगाउँछ । मेवाले कपाल बढाउनमा समेत मद्दत गर्छ । आयुर्वेदमा मेवालाई विभिन्न रोग भगाउने उच्चतम फलको रुपमा लिइएको छ । मेवाको सेवनले पाचन सम्बन्धि जटिलता अन्त्य गर्ने, कमलपित्त, हर्निया जस्ता रोगको जोखिम घटाउनुका साथै प्रजनन क्षमतामा वृद्धि गर्ने बताइन्छ । साथै मेवा मुटुरोगीका लागि समेत उपयोगी हुनुका साथै कोलेस्ट्रोलका विरामीका लागि समेत लाभकारी हुन्छ ।
मेवाले छालाको रंगमा निखार आउनुका साथै चमक पनि बढाउँछ । पाकेको मेवा अनुहारमा लगाउँदा समेत यसले छालालाई चम्किलो बनाउनुका साथै दाग धब्बा हटाउन सहयोग गर्छ । मेवामा पाइने लवण, भिटामिन तथा इन्जाइमका कारण यो फलको नियमित सेवनले कपाल पनि स्वस्थ बन्दछ । मेवाको बिउमा समेत कलेजोलाई स्वस्थ राख्ने गुण हुन्छ । मेयाको फलभित्रको गेडालाई पिँधेर महमा मिलाएर खानाले कलेजो स्वस्थ राख्न मद्दत पुग्ने बताइन्छ । मेवामा प्रसस्त पोटासियम पाइन्छ । त्यसकारण यसको सेवनले रक्तचाप सन्तुलित पार्नुका साथै हाइपरटेन्सनको समस्या भएका बिरामीका लागि फाइदा गर्छ । मेवामा कार्पेन वा कार्पेइन्ज नामक क्षारीय तत्व पाइन्छ, जसले रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ ।
तस्वीरहरू साैजन्य : रविन श्रेष्ठ / मकवानपुर हर्नामाडी ।