- एलिजा पुडासैनी
कुरा भदौ ८ गतेको हो । सायद दिउँसोको पौने २ भएको थियो । मेरो कार्यकक्षमा ४/५ जना महिलाको टिम आयो । कोहीले मास्क लगाएका कोही नलगाएका । कोहीको काखमा बच्चा बोकेका थिए । आ–आफ्नो समस्या लिएर सेवाका लागि आएका उनीहरुलाई अहिलेको विषम परिस्थितीमा अनिवार्य लगाउनु पर्ने मास्कको महत्व र अपनाउनु पर्ने सावधानी बारे मैले जानकारी गराउँदै थिए ।
म बोल्दा बोल्दै बिच्चैमा अलि रुखो रुखो स्वर सुने । त्यो स्वरले मलाई पनि आकर्षण ग-यो । त्यो समूहमा मलाई नै लक्षित गर्दै समस्या भन्दै थिइन् एक महिला । मैले आफ्नो कुरा सिध्याउन्को लागि उहाँलाई आग्रह गर्दै भने : “तपाईको पनि पालो आउँछ, त्यहिबेलै आफ्नो समस्या सुनाउनु होला, अहिले मेरो कुरा सुन्नु न है ।”
एकछिन माहोल शान्त भयो । हालको कारोनाको विषम अवस्था र स्वास्थ्य सावधानि मैले आफ्नो कुरा सकेर उहाँलाई कुरा राख्न आग्रह गरे ।
नाम : …….(गोप्य ।)
उमेरः १७ वर्ष ।
घरको ठेगानाः …………(बताउन अनुपयुक्त ।)
समस्याः “मलाई बच्चा नहुने औषधि चाहियो ।”
उनले साथमा बोकेको बच्चा देखाउँदै मैले सोधे ।
“कति महिनाको भयो बच्चा ? ”
“१० महिना”
“खोप पुरा गर्नुभयो ?”
“छैन यही समस्या त लिएर आएको, यसको खोप पुरा भएको छैन कार्ड च्यात्तिएको छ के गर्ने होला ? ”
मैले भनेः “आफ्नो नागरिकता जस्तै सोची जतन गर्नु पर्दैन च्यात्नु हुन्छ त ?”
उनी चुपचाप लागिन, अरुले हो नि भने र म तिर समर्थन जनाए । अनि उनको जवाफ आयो ।
“कार्ड भए पो जोगाउनु”
त्यो सुन्नासाथ मैले उनको अनुहार हेरेर सोधे “बनाउनु भएको छैन ?”
“छैन ”
“अनि किन नबनाको त ?”
उनको अनुहारको भाव एक्कासि बदलियो ।
“माइती कता हो त ?”
“दाङ ।”
“विवाह कहिले भएको ?”
“१५/२० दिन भयो ।”
उनको काखको बच्चा र विवाहको तालमेल मिलेन, मैले सोधे ।
“दोस्रो विहे ?”
“हो ”
“पहिलो श्रीमान ……? किन छाडेको ?”
उनले अलि रिसाउदै भनिन् मैले छाडेको हो र उस्ले पो मलाई बच्चा पाउने बनायो अनि छाड्यो ।”
मैले उनको अनुहार हेरिरहे उनि बोल्दै गइन् ।
“मन पराउछु भन्यो, मलाई पनि हो झै लाग्यो, मन पर्यो विवाह गरे, गर्भवती बनाएर छाड्यो, अनि मन्दिरमा बस्दै थे । सुत्केरी बेथा लागेपछि बेहोस भएछु कस्ले अस्पताल लगे थाहा पाइन् । थाहा पाउँदा २ छोरी साथमा रहेछन् । दुई महिनासम्म अरुले दिएको खानाले दुई छोरीलाई पालेपछि सकिन १ छोरीलाई माइतीघर नेपालमा जिम्बा लगाए यस्तै राम्री, गोथी थिइ नि अर्की पनि । दिदी हेर्नु त ।”
म अवाक भए । उनी सुनाउदै गइन् “अनि यो कोरोना आयो कसरी बाँच्नु मर्न नि सकिदो रहेनछ ।”
मैले सोधे “माइत जानू भएन ?”
“मेरो आमा बा कोहि छैनन् ।
“अनि यता ? आफन्तकोमा ?”
उनीसँगै आएकाहरुले भनेः ठुलो पानी परिरहेको बेलामा एक्लै यो सानो नानी च्यापेर रोडमा हिडिरहेका देखेर मायाले एकछिन बस्न भन्यौ । अनि उसको कुरा सुनेपछि साह्रै माया लाग्यो के नानी ।”
“अनि कहाँ जान हिड्नु भाथ्यो ?”
“म पालुङमा साथी थिइ त्यस्कोमा जान्छु भनेर हिडेको बाटोमा उहाँहरुलाई भेटे अनि त्यहीँ बसे ।”
उनीसँगै आएकाहरुले भनेः “नानी एउटा महिला त्यत्रो दर्के पानी यस्तो लकडाउनमा हिडेर एक्लै हामीले त सोच्नै सकेनौ, हाम्रै छिमेकमा एउटालाई उसकी श्रीमतिले छाडेकी,यिनीलाई राख्न भनेर भन्यौ दुबैको घर होस् भनेर ।”
म सुनिरहे । मनमा एक्कसि धेरै कुरा खेले । “यो घर चै पक्का हुन्छ त ?” मैले त्यो बच्चालाई र उसलाई नियाले उनीहरुको मातृवात्सल्य उसको आँखाको भाव । मनमनै कामना गरे अब चाँही यि दुईको बेमेल नहोस् ।
“अब चाँही तपाईहरुको बेमेल नहोस्, यि सानीलाई तपाईंलाई जस्तो आमा र बा को अभाव नहोस,आफू जस्तो नबनाउनु ल तपाईलाई हर दुःख थाहा भयो नि ।”
नजिकै बाट मेरो सहकर्मी साथीको आवाज सुने । बरु त्यहीँ छाडेको भए सुख पाउथी त्यो नानीले अब के होला ?
तर मलाई त्यो भाव पटक्कै उठेन । मैले उसको आँखामा छचालीकएको त्यो मातृत्व यसरी देखेँ कि मलाई दोहो-याएर उनीतर्फ हेर्न कठिन भयो । मैले दिने सेवा दिएर पठाए । उनीहरु आफ्नो बाटो लागे । आफ्नो कार्यालयको जिम्मेवारी सकेर घर फर्किए । खाजा खादा र अफिस सकेर फर्कदा बाटो भरी त्यही १७ वर्षको किशोरी आमाको झझल्को आइरह्यो । यो उमेरमा, कठिन यात्रा, असल आमा बन्ने कत्रो रहर । मथिङ्गल घुमिरह्यो : सानी छोरीलाई अधिकार दिलाउनु पर्छ भन्ने किशोरी आमाको आशा कहिल्यै नमरोस् । साथै यो मेल गराउनु हुने स्थानीय समुदाय जो कोहि भएनी सबै प्रती मेरो नमन । यो मेलले ति किशोरी आमा र १० महिने बच्चाले नयाँ जीवन पाउन् ……..।
यि आमा छोरी त समाजका प्रतिनिधि पात्र हुन् यि भन्दा धेरै दर्दनाक अवस्था भोगेका मानिसहरु नदेखेको पनि हैन, तर यो घटना आफैं सामु ठोकिन आउँदा फरक अनुभुति भएको हो मलाई । ति किशोरी आमाले अर्को छोरी सम्झेर “यस्तै गोथी थि नि अर्की पनि” भनेपछि मैले मेरो नानी सम्झे, अनि उ सानी हुँदाको उस्को दिनचर्या सम्झे, खै के सम्झे के अनि छोराछोरीलाई यस्तो भयो आज भन्दै सुनाए दुबै दङ्ग पर्दै सुनीरहे ।
हुन त अहिलेको मुलुकी संहिताले दोस्रो विवाहलाई मान्यता दिदैन । तर उनीहरुको यो अवस्थामा भएको दोस्रो विवाह र उनको अधिकारको कुरा के होला ?
ती सानीले पाउने अधिकार शिक्षाको सुनौलो अवसर आदि हर कुराबाट बन्चित हुन नपरोस् भनि उनलाई मनले आशिर्वाद बाहेक केही दिन सकिन मैले ।
ती महिलाको अवस्था यस्तो हुन के उनको मात्र दोष हो त रु आफुलाई चाहिएको बेला मजा लिने, आफ्नो कर्तव्य, भूमिका निभाउनु परे भाग्ने यस्ता पुरुष अनि महिलाको केही खाँचो छैन हाम्रो समाजमा । कतिपयले त मारेकै घटना पनि धेरै छन्, यस्तो विषम परिस्थितिमा पनि सन्तानको मायाले भौतारिरहेकी ति किशोरी आमाको जीवनमा नयाँ मोड लिएको छ । उनको बाटोमा अब तगारो नलागोस, उनले र उनको सन्तानले पाउनु पर्ने हर अधिकारमा तुषारापात नहोस् ! यी दुई बेसाहारालाई साहारा दिने र दिलाउने सबैलाइ सलाम ।
दोस्रो विवाह भन्ने बित्तिकै नकारात्मक सोच्ने मेरो साँघुरो मानसिकतालाई घच्घच्याउने ती आमा छोरीलाई पनि सलाम छ । हुन त अहिलेको मुलुकी संहिताले दोस्रो विवाहलाई मान्यता दिदैन । तर उनीहरुको यो अवस्थामा भएको दोस्रो विवाह र उनको अधिकारको कुरा के होला ? यो घटनापछि सबैको सवालमा दोश्रो विवाह गैरकानूनी नहोला भन्ने लाग्यो । सबै दोस्रो विवाहलाई नकारात्मक दृष्टिले नजरअन्दाज गर्ने मेरो सोचमा प्रश्न उठाउने यो घटना अनि ती छिमेकी र ती आटिलीको जीवन सफल होस् सानीले उनी जस्तै सडक बालक र बालआमा हुन नपरोस, कलिलैमा यौन पिपासुहरुले उनको ज्यान नलिउन । ती सानीको अनुहार आँखामा नाचिरह्यो। के समानता के समता यहाँ मानव भएर पाउनुपर्ने हक अधिकार सुनिश्चित होस अन्तमा केही गर्न नसकेनी तिमी दुईको उज्ज्वल भविष्यको कामना ।
महिलालाई मनोरञ्जनाका साधन ठान्ने केही पुरुषहरुले सिङ्गो पुरुष समाजमा कलंकल हुन् । महिलकै कारण पुरषको घरजम सजिएको हुन्छ, हराभरा भएको हुन्छ, हर पुरुषलाई लक्ष्यमा
पु-याउन महिला कै योगदान हुन्छ, तर पनि किन महिलाको योगदान, महिलाको त्याग तपस्यालाई नजरअन्दाज गरिन्छ ? महिला मुक्तिको लागि जति आवाजहरु उठाइएपनि ति किशोरी आमा जस्ता सयौं चेलीहरुले किन सडकमा भौतारिँदै आफ्नो जिम्मेवारी पुरा गर्न कठिन यात्रा जारी राख्नु पर्छ ?
मैले ति किशोरी आमाको विगत सम्झदा एउटै कारण देखेः उनको पारिवारीक अवस्था । आमा बुबा नहुनु, उनले समयमा जीवनपयोगि शिक्षा नपाउनु, परिवारिक माया तथा संरक्षणको अभावमा उनले पाउनु पर्ने शिक्षा कुनै पाइनन्, फलत कसैले माया गर्छु भन्दैमा झ्वाट्टै विश्वास गर्न पुगिन, यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा कुनै शिक्षा भएन र त उनको अवस्था यसरी गुज्रन पुग्यो। सही समयमा सही ढङ्गले सही निर्णय गर्न नसक्दा यस्तो अवस्था आउँन सक्छ । सही निर्णयको लागि सही तरिकाले शिक्षित र व्यवहारिक बनाउनमा सरकारी नीति नियम, ऐन कानून तथा जिम्मेवार अभिभावकको मुख्य भूमिका हुन्छ । जनता राज्यको शक्ति हुन्,उनीहरुलो यस्तो समस्यामा गुज्रेर आफैंसँग संघष गरेर समय गुजार्न नपरोस् । सहीखबर लेखक पुडासैनी मकवानपुर जिल्लाको भैंसे स्वास्थ्य चैकीमा कार्यरत छिन् ।