मकवानपुर । हेटाैंडामा काेराेना संक्रमित बढे पछी गत साउन २६ गते राती १२ बजेदेखि लागू भएकाे निषेधाज्ञा भदौ १५ गतेसम्म थप भएको छ । साेमबारकाे कमाण्ड पोष्टको बैठकले दाेस्राे पटक निषेधाज्ञाकाे अवधी थप गर्दै भदौ १५ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।
पहिलाे पटक थप गरिएकाे निषेधाज्ञा भाेली मंगलबार राती १२ बजे सम्म कायम रहने थियो । साेमबारकाे बैठकले भदौ ९ गते राती १२ वजेबाट १५ गतेसम्म निषेधज्ञालाई अहिलेकै अवस्थामा जारी गर्ने निर्णय गरेकाे जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गड्ताैलाले जानकारी दिए । सूचना अधिकारी गड्ताैलाका अनुसार निषेधाज्ञाकाे समयमा अर्काे बैठक बस्न सक्नेछ । उक्त बैठकमा व्यवसाय र जनजीवन खुला गर्ने माेडलमा छलफल भइ केही निर्णय हुन सक्ने उनले बताए ।
हेटाैडा लगायतकाे मकवानपुर जिल्लामा काेरोना संक्रमणकाे जोखिम कम नभइ बढ्दै गएकाे र कोरोना संक्रमितहरुसँग सम्पर्कमा आएकाहरुकको अझैपनि स्वाब परीक्षण भैनसकेकाे कारण १५ गतेसम्मलाई निषेधज्ञा थप गरिएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बताए । निषेधज्ञाको क्षेत्र हेटौँडाको सबै वडा तथा मनहरी गाउँपालिकामा पर्ने राजमार्गको क्षेत्रहरु हुनेछन् ।
यसै बीच हेटौंडामा निषेधाज्ञा थप भएसँगै बैंक तथा वित्तिय सस्था पनि बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञाकाे अवधीमा बैंक तथा वित्तिय सस्थालाई समय ताेकेर खोल्ने तयारी गरेको थियो । छिमेकी जिल्लामा समेत निषेधाज्ञा रहेकाे र त्यहाँ बैंक तथा वित्तिय सस्था समेत बन्द रहेकोले मकवानपुरका बैंकमा सेवाग्राहीकाे चाप बढी काेराेनाकाे जाेखिम बढ्ने भन्दै हेटौंडामा पनि बैंक तथा वित्तिय सस्थालाई बन्द गर्ने निर्णय गरिएकाे बताइएकाे छ ।