कोरोना भाइरसको संक्रमणले विश्व तातेको छ । यतिखेर शक्तिशालि हुँ भन्ने राष्ट्र र व्यक्तिलाई पनि कोरोनाको भयले छाडेको छैन । यसै बिच नेपालमा मानिने विभिन्न धार्मिक परम्परा अनुसार विभिन्न पर्वहरु सुरु भएका छन् । समान्यतय साउन महिनादेखि कात्तिकसम्म विभिन्न पर्वहरु मनाइने गरिन्छ नेपालमा । चाडपर्वको चटारोसँगै कोभिड– १९ को संक्रमण जोखिम पनि बढ्दो छ । चाडपर्व मनाउनु व्यक्तिगत खुसि तथा रमाइलोको लागि आवश्यक पनि छ ।
परिवारभित्र सुखद वातावरण सिर्जना गर्न, व्यक्तिको मन प्रफुल्ल राख्न समय समयमा रमाइलो पनि अपरिहार्य हुन्छ । मान्छेलाई लामो समयसम्म कामको चाप, तनाव, दिक्दारी भैरह्यो भने यसको प्रत्यक्ष असर व्यक्तिको आन्तरीक शक्तिमा पुग्ने हुनाले नियमित हाँसो खुसिहरु पनि आवश्यक हुन्छ । अहिलेको आवश्यकता भनेको पर्व र मेलाको जगेर्ना पनि हुने र संक्रमण पनि नफैलिने तरिकाले पर्व मनाउनु हो । सरकारले कोरोना नियन्त्रणको लागि भीडभाड नगर्न, मेला पर्वको लागि टाढाटाढा नजान आग्रह गरेको छ । मन्दिरमा जात्राहरु लगाउन निषेध गरेको छ । यस्ता निर्णयहरुलाई आम नागरिकले पालना गर्नु सबैको कर्तव्य हो ।
कोरोना संक्रमणको संकटपूर्ण अवस्था भएकोले यसको नियन्त्रणका लागि सरकारको मात्रै मुख ताक्नुभन्दा जनता आफैं सचेत हुनु बुद्धिमानी हो । आफू सुरक्षित भएमात्रै सबै सुरक्षित रहन्छन् भन्ने भावना सबैमा जरुरी छ । चाडपर्व संस्कार हाम्रा अमूल्य निधि हुन् । संस्कार टिकाइराख्न सक्यौं भने मात्रै आफ्नो पहिचानलाई जीवन्तता राख्न सक्छौ । तर भनिन्छ नि सास रहे आश । हामीले यस वर्ष आफू बचेर पर्वप्रतिको आस्था बचाउन सक्यौ भने फेरि फेरि पनि यस्ता गतिविधि मनाउन सक्नेछाैं । सरकारको बाटो हेर्ने र सरकारले यो गरेन त्यो गरेन भन्नु भन्दापनि आफू आफूले आफ्नो स्थानबाट स्वास्थ्य सुरक्षा अपनाउँदै पर्व मनाऔ, आजैबाट सुरु भएको पर्व हरितालिका तीजको अवसरमा हिन्दु नारीहरुमा शुभकामना ।