मकवानपुर / बागमती प्रदेश प्रहरी कार्यालयले सवारी दुर्घटना न्युनीकरणको अभियान अन्तर्गत सवारी साधानको झल्लरहरु हटाउने अभियान थालेको छ । प्रदेश प्रहरीले सवारी साधनमा सजावटको लागि अगाडितर्फ सिसाको छेउमा जडान गरिएका विभिन्न झल्लरहरुका कारण चालकले अगाडिको दृश्य राम्ररी नदेख्ने हुँदा दुर्घटनाको सम्भावना हुने भन्दै यस्ता अनावश्यक झल्लरहरु हटाउन थालेको बताइएको हाे ।
बागमती प्रदेश प्रहरी कार्यालयले सवारी साधनमा राखिएका झल्लरहरु हटाउने अभियान गत असार २ गतेबाट शुरु गरेको थियो । अभियान शुरु भएदेखि हालसम्म १ हजार ८ सय ५० वटा झल्लर हटाईएको प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । प्रहरीका अनुसार १ हजार ५ सय २ वटा सवारी साधनमा राखीएका उक्त झल्लर हटाईएको हो । ट्रक, टिपर, बस लगायतका सवारी साधनमा राखिएको झल्लर हटाईएको प्रहरीले जनाएको छ । बागमती प्रदेश प्रहरी कार्यालयमा प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामा आउनुभएपछि सवारी दुर्घटना न्युनीकरणको लागि बार्षिक कार्ययोजना तयार गरी विभिन्न कार्यक्रम र अभियान सञ्चालन गरीरहेको कार्यालयले जनाएको छ ।
यसैगरी संक्रमणबाट सुरक्षित बनाउने फेस सिल्ड लगाएर डियुटी गर्न सुरु गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रत्यक्ष मातहतमा रहेका प्रहरी कर्मचारीहरु सबैले संक्रमण जोखिमलाई कम गर्न भाद्र १ गते देखी फेस सिल्ड लगाएर डियुटी गर्ने व्यवस्था मिलाईएको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले कार्यरत सबै प्रहरी कर्मचारीहरुलाई फेस सिल्ड वितरण गरीसकेको छ ।
सबै प्रहरी कर्मचारीहरुमा एकरुपता ल्याउन फेस सिल्डमा प्रहरीको लोगो र “बागमती प्रदेश प्रहरी” लेखीएको छ । फिल्डमा नियमित डियुडीमा खटिने हरेक प्रहरी कर्मचारीले फेस सिल्ड लगाएर डियुटी गर्ने बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक गिरीले बताउनु भयो ।
डियुटीका प्रहरी कर्मचारी धेरै जनासँग सम्पर्कमा आउनु पर्ने भएकाले प्रहरी कर्मचारीहरुलाई संक्रमण हुनबाट जोगाउन र प्रहरी कर्मचारीहरुबाट अन्य ब्यक्तिमा संक्रमण नफैलियोस भन्ने उद्देश्यले बागमती प्रदेश अन्तर्गत कार्यरत सबै प्रहरी कर्मचारीहरुलाई फेस सिल्ड उपलब्ध गराईएको उहाँले बताउनु भयो । विभिन्न प्रहरी ईकाइमा कार्यरत प्रहरी कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिएकाले संक्रमणलाई थप फैलन नदिन बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामाले हरेक प्रहरी कर्मचारीलाई फेस सिल्ड उपलब्ध गराई डियुटीमा बस्दा मास्क, फेस सिल्ड लगाई डियुटी गर्न निर्देशन समेत दिनुभएको बताउनु भयो ।
प्रहरी कार्यालयमा हुन सक्ने संक्रमण जोखिम न्युनिकरण गर्न पक्राउ परेका ब्यक्तिहरुका साथै संक्रमण जोखिममा कार्यरत प्रहरी कर्मचारीहरुलाई अनिवार्य पीसिआर टेष्ट गर्ने व्यवस्था मिलाईएको छ । सबै प्रहरी कार्यालयमा स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउने, हरेक प्रहरी कार्यालयमा क्वारेन्टाइन बनाउने, अत्यावश्यक कामले कार्यालय बाहिर जाने प्रहरी कर्मचारीहरुलाई क्वारेन्टाइनमा बस्ने लगाएतका सुरक्षा सावधानी अपनाईएको उहाँले बताउनु भयो ।
यसैबिच आर्थिक प्रलोभनमा परी आफ्नो जिम्मेवारी इमान्दारीताका साथ निर्वाह नगर्ने २ जना प्रहरी कर्मचारीहरुलाई निलम्बन गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंँडाका अनुसार जिल्ला प्रहरी कार्यालय सिन्धुलीले उनीहरुलाई निलम्बन गरेको हो । बा ६ ख ५५६३ नम्बरको सवारी चालकसँग रकम लिएको भन्ने उजुरीको आधारमा दुईजना प्रहरीलाई प्रारम्भिक सोधपुछ गर्दा रकम लिएको भन्ने पृष्टी भएपछि थप छानविनको लागि निलम्बन गरीएको हो । निलम्बन पर्नेमा ईलाका प्रहरी कार्यालय भिमान सिन्धुलीमा कार्यरत प्रहरी हबल्दार कमल बहादुर खड्का र प्रहरी चौकी ढुंग्रेबास सिन्धुलीमा कार्यरत प्रहरी जवान वीर बहादुर प्रसाद यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले थप छानबिन गर्न प्रहरी नायव उपरीक्षकको संयोजकत्वमा समिती गठन गरेको छ । राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई सजया स्वरुप यस्ता कार्य गरेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट नागरिक केन्द्रीत, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाबाट बिषेश कार्ययोजना बनाई मातहत प्रहरी कर्मचारीहरुबाट सम्पादन भैरहेको कार्यलाई अनुगमन र मुल्यांकन गर्न सिनियर प्रहरी अधिकृतको कमाण्डमा टाक्स फोर्स गठन गरिएको प्रदेश कार्यालयले जनाएको छ ।
सेवाग्राहीसँग आर्थिक प्रलोभनमा पर्ने एक जना प्रहरी निरीक्षक सहित हालसम्म १३ जना प्रहरी कर्मचारी निलम्बित भैसकेका छन् । यसैगरी डियुटीमा ईमान्दारीता प्रदर्शन गर्ने २५ जना प्रहरी कर्मचारी पुरस्कृत भैसकेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक गिरीले बताउनु भयो ।