मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका–८ दोभानवेशी स्थित बागमती नदी किनारमा रहेको माण्डु हाईड्रो हेडवक्स बकेटमा बेवारिसे शव फेला परेको छ । मकवानपुर प्रहरीले उक्त शवको सनाखत नभएको भन्दै फोटो सार्वजनिक गरेको छ ।
‘नामथर वतन खुल्ने कुनै पनि प्रकारको कागजात भेटिएको छैन, हामीले अहिले नै व्यक्ति को हो भन्न मिल्दैन’ जिल्ला प्रहरी कार्यालय मकवानपरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले भन्नुभयो । अन्दाजी ४०।४५ वर्षको पुरुषको वर्ण- गहुँगोरो, क्षेत्री बाहुन जस्तो देखिने, अन्दाजी ५ फिट ४ ईन्च, छोटो जुगाँ पालेको, मोटो शरिर भएको शव फेला परेको उहाँले बताउनु भयो । शव हाल हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ ।
यसैबीच उक्त शव पत्रकार बलराम बानियाँको रहेको भन्दै इकान्तिपुले समाचार लेखेकाे छ ।
पढ्नुहोस् इकान्तिपुरको समाचार
दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन भएका कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको दुस्खद निधन भएको छ । महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको हो । हाल उनको शव हेटौंडा अस्पतालमा राखिएको छ ।
बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए । उनी पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार करिब पौने चार बजे देखापरेको प्रहरीले जनाएको छ । बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि उनलाई सोधपुछ गरेको थियो । त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनितर्फ लागेको देखिएको प्रहरीले जनाएको छ ।
एसएसपी थापाका अनुसार बानियाँ पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेका थिए । तर पानीको अत्याधिक वहाबले गर्दा उद्धार गर्न नसकेको स्थानीयले बताएका छन् । त्यसबेला उनको पहिचान खुल्न सकेको थिएन । बानियाँले सोमबार दिउँसो करिब एक बजे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लेख पठाएको जानकारी कार्यालयलाई गराएका थिए । त्यसपछि उनी सम्पर्कमा थिएनन् । कोभिड९१९ को संक्रमणका कारण कान्तिपुरका अधिकांश सम्पादकीय कार्य घरबाट भइरहेका छन् ।
बानियाँ पछिल्लोपटक एक दशकभन्दा अघिदेखि कान्तिपुरमा कार्यरत थिए । त्यसअघि पनि उनले कान्तिपुर, नागरिकलगायतमा सम्बद्ध रही पत्रकारिता गरेका थिए । इकान्तिपुरबाट साभार ।