मकवानपुर/लागु औषध प्रयोगकर्ता सबैजसोलाई समान्यतः समाजमा सकारात्मक दृष्टिले हेर्ने गरेको पाइन्न । पारिवारीक वा साथिहरुको लहैलहैमा लागेर अन्जानमै लागु औषध दुर्व्यसनिमा फसेकाहरु आफूलाई सुधार्न चाहेपनि केही समय कुर्नु पर्ने हुन्छ, जुन समय त्यो परिवारको लागि अति नै पीडादायि बन्ने गरेको छ । पूर्वलागु औषध प्रयोकर्ताहरु पुरानो पीडा भुलेर नयाँ जीवन शैलीमा आउँन चाहदा पनि समाजले आफूहरुलाई सकारात्मक रुपमा नहेरेको गुनासो गर्छन् । तर हेटौंडामा भएको एक कार्यक्रममा एकजना युवाले लागुऔषध प्रयोगकर्ताहरुलाई सुधारात्मक जीवन शैलीमा चाँडै फर्कन र आफूसँग रोजगारी माग्न आग्रह गरेका छन् ।
लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका अध्यक्ष लियो कुबेर पाठकले सुधार गृहमा उपचाररत रहेको व्यक्तिलाई रोजगार दिने बताउनु भएको हो । मकवानपुरको हेटौँडामा रहेको लागुऔषध दुर्व्यसनिमा फसेको र हाल परामर्श, उपचार र पुर्नमिलनमा सक्रिय सिआन पुर्नस्थापना केन्द्रमा पुग्नु भएका पाठकले दुर्व्यसनिबाट मुक्त भएपछि समाजको लागि योगदान गर्न सक्ने अवस्थामा बेरोजगार रहन नपेर्न बताउनु भयो । ‘तपाईहरु तयार भई केहि गर्छु भन्ने सोच राख्नुस्, रोजगारी दिलाउनको लागि हामी तयार छौँँ” उहाँले भन्नुभयो ।
सिआन पुर्नस्थापना केन्द्रले गरेका कार्यहरुबारे सिआनका सचिव अनिल अधिकारीले जानकारी दिए पश्चात लागुऔषध दुर्व्यसनिमा लागेका व्यक्तिहरुलाई १ वर्ष भित्रमा रोजगार प्रदान गर्ने प्रतिवद्धता पाठकले गर्नु भएको छ । पाठकले नेपालमा दिनप्रतिदिन दुर्व्यसनि बढिरहेको अवस्थामा यसलाई राेक्नु सामाजिक दायित्व भएको र सामाजिक दायित्वमा सबैले अग्रसर हुनुपर्ने बताउनु भयो । रोजगारी तथा व्यस्ततापछि कुलतमा फस्ने संख्यामा पनि कमी आउने उहाँले बताउनु भयो ।
आफ्नो कार्यकालमा योजना नै बनाएर आगडि बढिरहेको भन्दै उहाँले भन्नुभयो, “लियो जिल्ला परिषद् ३२५ बि २ नेपाल र सिआन पुर्नस्थापना केन्द्रसँग यस वर्ष सहकार्य गरेर अगाडि बढ्ने सम्झौता समेत गरेको छौँ ।”
उहाँले कुनै पनि नशा आफैंमा गलत नभई त्यसको प्रयोग चाँहि गलत भएको भन्दै लागुऔषध प्रयोगकर्ताहरु आफैमा नराम्रो नभएको बताउनु भयो । सुधारगृहमा बसेकालाई समाजमा हेर्ने दृष्टिकोण फरक भएको भन्दै यस्ता व्यक्तिहरुलाई समाजमा उदाहरणीय बनाउनको लागि लागि पर्ने आफूहरुले सक्दो योगदान गर्ने उहाँले बताउनु भयो । समाजको प्रेरक पात्र बन्न विगत राम्रा वा नराम्रो घट्ना चाहिने बताउदै अब प्रेरक पात्र बनाउन तर्फ लाग्न उहाँले सुधार गृहमा रहेकाहरुलाई आग्रह गर्नुभयो । सबैको सकारात्मक साथ भए मात्रै सुन्दर समाजको कल्पना गर्न सकिने सिआन पुर्नस्थापना केन्द्रका प्रमुख सौजन डिसिले बताउनुभयो । “हामी सबैसँग सकारत्मक सहयोगको आशा राख्दछौ, यो समाज हाम्रो हो हामी सबैले मिलेर बनाउनु पर्छ” डिसिले भन्नुभयो ।
कार्यक्रममा लियो जिल्ला परिषद् ३२५ बि २ नेपालका कोषाध्यक्ष राजन श्रेष्ठ, जिल्ला निर्देशक संजय विक्रम अधिकारी, लियो क्लव हेटौँडा भुटनदेविका सचिव मेनुका लामालगायतको सहभागिता रहेको थियो ।