मकवानपुर/बागमती प्रदेशमा रहेका जिल्लाहरुमा कोरोना संक्रमणपछि विद्यालयभित्र सञ्चालनमा ल्याइएका आईसोलेशन र क्वारेन्टाइन हटाइने भएको छ । विद्यालयबाट आईसोलेशन हटाउने निर्णय अनुसार बागमती प्रदेशमा विद्यालयहरुमा रहेको आइसोलेशन तथा क्वारेण्टाइन स्थानन्तरण गरिने भएको हो ।
आईसोलशसन हटाउने निर्णय कार्यान्वयन गर्न हेटौंडाको श्रमिक माध्यमिक विद्यालयमा यस अघि सञ्चालन गर्दै आइएको क्वारेण्टाइन तथा आइसोलेशनलाई हेटौंडा–६ मा गौरीटार रंगशालामा रहेको केन्द्रीय खेलकुद प्रतिष्ठानको छात्राबासको भवनमा स्थानान्तरण गरिने भएको छ । गौरीटार रंगशालाको छात्राबासमा स्थापना गरिन लागेको स्थानको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अवलोकन गर्नुभएको छ । स्थानको अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले यसलाई छिटोभन्दा छिटो स्थानान्तरण गर्न निर्देशन दिनुभयो ।
प्रदेशमा कोरोना संक्रमण फैलन सक्ने तर्फ सचेत हुन आग्रह गर्दै उहाँले प्रदेश सरकारले पुर्ण सहयोग गर्ने बताउनुभयो । यसैगरी सामाजिक विकास मन्त्री युवराज दुलालले छात्राबाससँगै बन्दै रहेको र निर्माणको अन्तिम चरणमा रहेको कभर्डहलमा समेत संक्रमित राख्न सकिने बताउनु भयो । यसलाई आवश्यकता अनुसार निर्माण गरिने उहाँले जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले यसको व्यवस्थापनमा जनशक्ति, आर्थिकलगायतका काममा सहयोग हुने बताउनु भयो ।
निरीक्षणमा प्रदेशका प्रमुख सचिव डाक्टर मानबहादुर विश्वकर्मा, सामाजिक विकास मन्त्रालयका सचिव दिपक काफ्ले, चिकित्सा महाशाखा प्रमुख डाक्टर पुरुषोत्तमराज सेढाई, हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल, मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रवीण श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंलगायतले रंगशाला अवलोकन गरेका हुन् ।
यसैगरी प्रदेशका अन्य जिल्लामा विद्यालयमा रहेका आईसोलेशन र क्वारेन्टाइन पनि हटाएर अन्य स्थानमा राखिने तयारी भएको प्रदेश सरकारले जनाएको छ । संघीय सरकारको मन्त्रीपरिषदको बैठकले गत साउन १२ गते नै देशभरको विद्यालयहरुबाट आइसोलेशन तथा क्वारेण्टाइन हटाउने निर्णय गरेको भएपनि बागमती प्रदेश कोभिड संकट व्यवस्थापन समितिले सोमबारमात्र विद्यालयबाट आइसोलेशन र क्वारेण्टाइन हटाउने निर्णय गरेको थियो ।