मकवानपुर / मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ को वाईबा डाँडा र वडा नम्बर ५ को कालिवनको सिमानमा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयले आफूहरुले विगतमा भोग्दै आएको विविध समस्या अब टरेको भन्दै खुसी व्यक्त गरेका छन् । संघीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तरगत ४७ लाख ८५ हजार ४ सय ७७ र स्थानीयको तर्फबाट ९५ हजार ७ सय ८५ लगानीमा पुल निर्माण गरिएको हो ।
निर्माण सम्पन्न पुलको उद्घाटन गर्दै मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाइले स्थानीयलाई अब ब्यवसायिक उत्पादन गरे उद्यमतिर लाग्न स्थानीयवासीलाई अनुरोध गुर्नभयो । “अब खोलको समस्या टरेको छ, कृषि पशुपालन वा लघु तथा मझौला उद्योग सञ्चालन गर्नुहोस्”अध्यक्ष हुमगाईले भन्नुभयो । विद्यार्थी, वृद्धहरुको लागि झोलुङ्गे पुल बरदान बन्ने उहाँँले बताउनु भयो । गाउँपालिकाले भौतिक, आर्थिक, सामाजिक विकासलाई समान प्राथमिकता दिदै आएको र जनताको हितको लागि स्थानीय सरकारले काम गर्दै आएको उद्घाटन कार्यक्रममा गाउँ पालिका अध्यक्ष हुमगाईंले बताउनु भयो । मकवानपुरगढी गाउँपालिका मानव बस्तिको लागि अति उपयोगी भएकोले नजिक रहेको हेटौंडा बजारमा केही धुर घडेरी किन्न मरिहत्ते नगर्न अनुरोध गर्दै उहाँले भन्नुभयो “अब धुरको लागि बजार खोज्ने हैन,यहि विकास गर्ने र बिगाहामा रमाउने हो ।” गाउँको सबै क्षेत्रमा बाटो पुर्याउने लक्ष्यसाथ स्थानीय सरकारले काम थालेकोले सबै किसानहरुलाई बिस्तारै बिस्तारै ब्यवसायिकतातर्फ लाग्न उहाँ आग्रह गर्नु भयो ।

कार्यक्रममा गढी गाउँपालिका ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिनाले आफूहरू निर्वाचित भएर आएपछि ३ जना स्थानीयको त्यही खोला तर्ने क्रममा मृत्यु भएको स्मरण गर्दै अब ती पीडादायी दिन सकिएकोमा खुसि व्यक्त गर्नुभयो । “हेर्दा नजिक थियौ,तर सामरी खोलाको कारण कालिवन र वाईवाडाँडावासी बिच समस्यामा एकसाथ हुन सकेका थिएनौ,अब हामी एकै गाउँका जस्ता भयौ” वडा अध्यक्ष तिमल्सिनाले भन्नुभयो । “पारी पहिरोले पुरिदा वारिबाट टुलुटुलु हेरेर बस्ने,वारि खोलाले घर बगाउँदा पारिबाट टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता थियो, खोला तरेर उद्दारमा जान सकिन्नथ्यो,अब हर दुखसुख सँगसँगै हुनेछौ” उहाँले भन्नुभयो ।

हेर्दा एउटा सामन्य पुल भएपनी यससँगै धेरै आवश्यकताहरु टरेको गढी गाउँपालिका ५ का वडा अध्यक्ष जितबहादुर घिमिरेले बताउनु भयो । गढी ५ को धादिङमा रहेको शारदा माध्यमिक विद्यालय आउने विद्यार्थी तथा वडा ५ मै रहेको पसल, मेल, घट्ट, सबै सेवाको लागि धाउनेहरुलाई सामरी खोला बाधक बन्दै आएकोमा अब समस्याको समाधान नभएको वडा अध्यक्ष घिमिरेले बताउनु भयो ।
कुल १ सय १९ मिटर लामो झोलुङ्गे पुल निर्माणमा सामाजिक संस्था राडो नेपाल मकवानपुरले सामाजिक तथा प्राबिधिक सहजीकरण गरेको थियो । पुल शिलान्यास गरेको ८५ दिनमा काम सम्पन्न भएको राडो नेपालका कार्यक्रम संयोजक बिष्णु धितालले बताउनु भयो । पुल उद्घाटन कार्यक्रममा गाउँ कार्यपालिका सदस्य निर्मला बिक, वडा ५ को वडा सदस्य उषा नेपाली, वडा ४ को वडा सदस्य संगिता नेपाली, वडा नम्बर ५ को टोल विकास समितिका अध्यक्ष थलनाथ घिमिरे, सिमल्टार टोल विकास संस्थाका अध्यक्ष जयराम तिमल्सिना, शारदा माविका पुर्व शिक्षक तथा कालिवनका समाज सेवि भरत सन्जेल, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष सरिता दाहल, पत्रकार श्रीराम अर्जुनलगायतको उपस्थिति रहेको थियो ।

पुल निर्माण उपभोक्ता समितिको अध्यक्ष बिनोदमान गोलेको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको राडो नेपालका सामाजिक सहजकर्ता राजन दाहालले बताउनु भयो । कार्यक्रम उपभोक्ता समितिका सचिव बिषमकुमार नगरकोटिले स्थानीयको आवश्यकतालाई झोलुङ्गे पुलले धेरै हदसम्म सम्बोधन गरेको बताउनु भयो । कोरोना संक्रमणपछिको लकडाउनमा धेरै समस्या झल्दै पुल निर्माण सम्पन्न गरिएको राडो नेपालमा सामाजिक सहजकर्ता दाहालले बताउनु भयो ।
