मकवानपुर / कोरोना संक्रमणपछि बन्द भएका विद्यालयहरुमा सञ्चालनमा ल्याइएका क्वारेण्टाइनहरु हटाउन र किटाणु रहित बनाउन निर्देशन दिइए पनि मकवानपुरमा यो कार्य थालनी गरिएको छैन ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने सम्बन्धमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जिल्लाको विद्यालयहरुको बातावरण पठनिय बनाउने तयारी थालेको छ । मन्त्री परिषदको गत साउन १२ गतेको निर्णय कायान्वयन गराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्र, विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा सानोठिमीले पनि आज मन्त्रिपरिषद्को निर्णय लागु गर्ने सम्बन्धमा ६ बुदे निर्देशन जारी गरेको छ ।
‘विद्यालय भवन तथा परिसरमा क्वारेण्टाइन तथा आइसोलेशन सम्बन्धी कार्य सञ्चालन नगर्ने, क्वारेण्टाइन तथा आइसोलेशनमा प्रयोग भएका विद्यालय भवन तथा परिसरलाई स्थानीय तहले मापदण्ड अनुसार निर्मलिकण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउन तथा सबै विद्यालयहरुलाई आवश्य समन्वय गर्न निर्देशन जारी गरिएको छ ।
हेर्नुहोस् पत्र

मकवानपुरका विद्यालयहरुमा सञ्चालन भइरहेका क्वारेन्टाइन तथा आइसोलेशनहरु तत्काल स्थानान्तरण गर्नुपर्ने शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले पनि निर्देशन जारी गरेको छ तर हटाउने काम थालिएको छैन ।
शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख लिलानाथ गौतमले कोरोना भाईरस संक्रमणका कारण मकवानपुरमा हाल १७ विद्यालयहरुलाई नै क्वारेन्टाइन तथा आइसोलेशनको रुपमा प्रयोग गरिएकोले अब तत्काल हटाउनुपर्ने निर्देशन दिइएको बताउनु भयो ।
जिल्ला शिक्षा समन्वय इकाइ मकवानपुरले विद्यालयमा क्वारेन्टाइन सञ्चालन गर्दा स्थानीय तहहरुले आफूहरुसँग बिना समन्वय यसरी प्रयोग गरेकोले पनि स्थानान्तरण गर्नुपर्ने उहाँले बताउनु भयो । ‘जिल्लाका विद्यालयहरु सञ्चालनका लागि तयार भने भएको छैन, तर भोली बालबालिकाहरु पढ्ने खेल्ने ठाउँ किटाणु रहित बनाउँदै लैजानु पछै भनेर यस्तो माग गरेका हौं’ उहाँले भन्नुभयो ।
कोरोना संक्रमणको जोखिममा रहेकाहरुलाई तत्काल व्यवस्थित गर्नुपर्ने भएपछि भौतिक रुपमा क्वारेन्टाइन निर्माण गर्न समय अभाव भएकै कारण स्थानीय सरकारले विद्यालयलाई नै क्वारेन्टाइन बनाएको थियो ।
देशमा लकडाउन हटेसँगै कतिपय विधालयहरुले कक्षाकार्य र गृहकार्य दिँदै अध्यपान कार्य सुरु गर्दै गरेको अवस्थालाई मध्य नजर गर्दै स्कुलहरु खालि गर्न अनुरोध गरिएको उहाँले बताउनु भयो । आइसोलेसन तथा कवारेण्टाइनमा राखिएका सम्पुर्ण विद्यालयहरुको विषयमा समन्वय नै नभएको भन्दै गौतमले साना विद्यालयहरुमा क्वारेण्टाइन बनाउन आग्रह गरिए पनि त्यसो हुन नसकेको बताउनु भयो ।
यससँगै लामो समयदेखि प्रभावित शिक्षण सिकाईलाई भदौ १ गते देखि संञ्चालन गर्ने सरकारको तयारीलाई पूर्णता दिन क्वारेण्टाइन हटाउनु जरुरी रहेको बताउदै उहाँले भन्नुभयो ‘विद्यालयमा राखिएका क्वारेण्टाइन तथा आईसोलेशनहरुलाई स्थानान्तरण गरी विद्यालयहरुमा पठनपाठन सञ्चालन गर्नुपर्छ ।
‘विद्यालयहरु खुल्ने कन्फ्रम भएपछि १० दिन अगावै विद्यालयहरु पूर्ण रुपमा खालि गरेर सेनिटाइज गर्नेछौ, तर अहिले नै भने हामीले विद्यालयबाट क्वारेण्टाइन हटाउने बारे सोचेका छौनौं’ हेटौंडा उपमहानगरपालिका–९ का वडा सदस्य शुक्रराम केसीले भन्नुभयो । वडा कार्यालयले हेटौंडा–९ मा रहेको दिव्यजोति निमाविलाई क्वारेण्टाइनको रुपमा सञ्चालन गर्दै आएको उहाँले भन्नुभयो ।
विद्यालय सञ्चालन पूर्व विद्यालय निर्मलीकरण गर्ने र आवश्यक स्वास्थ्य सुरक्षा व्यवस्था गर्ने विषय प्राथमिकतामा पर्नु पर्दछ । त्यसो त सरकारको योजना अनुरुप भदौदेखि विद्यालय सञ्चालनको तयारीमा सरकार रहे पनि विद्यालयहरुमा धेरै तयारी आवश्यक रहेको शिक्षा समन्वय इकाई प्रमुख लिलानाथ गौतमले जानकारी दिनुभयो । उहाँले विद्यार्थी, अभिभावक र शिक्षकहरुमा अब विद्यालय प्रवेश गर्न डर पैदा भएकाले उनीहरुलाई मनोसामाजिक परामर्श दिएर विद्यालय जान सक्ने वातावरण सृजना गर्नुपर्ने समेत बताउनु भयो ।
स्थानीय सरकारले तत्काल क्वारेनटाइन तथा आईसोलशनको स्थानान्तरण गरी विद्यालयमा पठन पाठन गराउन सक्ने बातावरण तयार गर्नुपर्ने प्रमुख गौतमले बताउनु भयो । त्यस्तै अभिभावक संघ मकवानपुरका अध्यक्ष ध्रुब चौलागाईंले अहिले कै अवस्थामा विद्यालय सञ्चालन गर्न नहुने बताउनु भयो । कोरोनाको संक्रमण दैनिक बढिरहेको र सुरक्षा अवस्था अझै भरपर्दो नभएकोले विद्यालयहरु खोलेरमा तत्काल कोरोना संक्रमणको अवस्था दोस्रो चरणमा प्रवेश गर्नसक्ने जोखिम रहेको उहाँले बताउनु भयो ।
मकवानपुर जिल्लामा सञ्चालित क्वारेण्टाइनबाट हालसम्म सेवा लिने संख्या ४ सय ७६ जना रहेका छन् । जिल्लाको १७ वटा विद्यालयहरुमा क्वारेण्टाइन तथा आइसोलेशनको व्यवस्था गरिएको छ । मकवानपुरको केही स्थानीय तहहरुले भने होटलमा क्वारेण्टाइनको व्यवस्था गरेका छन् ।