उत्पादक र उपभोक्ताबीच सिधा सम्पर्क हुँन नसक्दा बिचौलियाहरुको बिगबिगि बढेको छ । बिचौलियाहरु बढेकै कारण उत्पादकले आफ्नो लगानी उठाउन सकेको छैन भने उपभोक्ताले वास्तवित मुल्यभन्दा ज्यादै बढी मुल्य तिर्नुपर्ने बाध्यात्मक परिस्थिती आएको छ । कारोना भाइरसको संक्रमणपछि लकडाउन लगाइदा तरकारी, दुध तथा खाद्यान्नको आयात र वितरणमा सुरु भएको समस्या अहिले खुलेपछि झन् बढी देखिएको छ । कोभिड–१९ को पिरलोले रन्थनिएका उपभोक्ता अहिले अर्को मारमा परेका छन् । हेटौंडा बजारमा लकडाउनको बेलामा भन्दा अहिले झन् तरकारीलगायत उपभोग्य सामग्रीको मुल्य आकाशिएको छ ।
दुई साताको अवधिमा ७० प्रतिशतसम्म मुल्य बढेको छ । सामनको मुल्य कोरोनाको कारण बढेको भन्ने बाहानाबाजी उत्तर सबै व्यापारीबाट सुनिन्छ । मूल्यवृद्धि सधैं देखिने र सबैजसो क्षेत्रले बेहोर्नुपर्ने भएका कारणले पनि यो विषय सरकारको प्राथमिकतामा नपरेजस्तो देखिन्छ। सतही रुपमा सामान्य देखिए पनि हरेकको भान्सासँग प्रत्यक्ष जोडिएका यस्ता समस्याको स्थायी समाधान खोज्न प्रशासनले किन वास्ता गर्दैन ? कृषकले खेतबारीमा उत्पादन गरेको तरकारी उपभोक्ताको भान्सासम्म पुग्दा न्यूनतम चारदेखि ६ तहका बिचौलियाले फाइदा उठाउँछन् ।
बलिया बिचौलिया समूहको प्रभावकै कारण सामानको मूल्य उपभोक्ताको भान्सासम्म आइपुग्दा एक सय ७० प्रतिशतसम्म वृद्धि हुने गरेको हो । यसबाटै सहजै अनुमान गर्न सकिन्छ फलफूल तथा तरकारीको मूल्यवृद्धिको फाइदा ठूला व्यापारी र बिचौलियाले मात्रै उठाइरहेका छन् । वास्तविक दुःख गर्ने किसान वर्ग र त्यसको दैनिक प्रयोग गर्नुपर्ने उपभोक्ता भने सधैं ठगिइरहेका छन् । अहिले हेटौडामा दैनिक सयौं टन तरकारी को माग छ । मौसम तथा ढुवानी समस्याले माग जती तरकारी भित्रिएको छैन । सरकारले समस्या निराकरणको लागि प्रभावकारी उपस्थिति देखाओस् । ताकि बिचौलियाभन्दा उत्पादकले नै आफ्नो पसिनाको उचित मुल्य पाउन् ।