
सात महिनाको गर्भ लिएर उहाँ सम्बन्ध विच्छेदको लागि अदालत आइपुग्नु भयो । जिल्ला कानुनी सहायता समितिको परिसरमा भेटिनु भएको उहाँले गर्भको बच्चा जन्मञ्जेल पनि श्रीमानसँग बस्न सक्ने अवस्था नभएको बताउनु भयो ।
- मकवानपुर / घटना ‘क’ ‘श्रीमानसँग छुट्टिएर आफ्नो जीवन सहज होला भन्ने सोचेको थिएँ आज डेढ बर्ष वित्यो । अदालत धाईरहनु परेको छ । श्रीमानसँग रहदाको पीडा र यो परिस्थितीमा अदालत धाइरहनु पर्दाको पीडा उस्तै उस्तै छ । मुद्दा चलिरहदाको संघर्ष, कुरा काट्नेहरुको शब्दवाण हामी महिलाहरुको लागि धेरै पीडादायि छ’ उहाँले एकै स्वासमा भन्नुभयो । उहाँ अर्थात हेटौडा उपमहानगरपालिका– १७ की ३१ वर्षिय महिला ।
‘एक दिन हैन, दुई दिन हैन कति सहनु, मैले हिंसा सहेपछि उसलाई झन् हिम्मत जाग्दो रहेछ, घरमा सँधैको रडाको । अनि रोजे छुट्टीएर एक्लो हुने बाटो । अहिले लाग्छ, उबेला हिंसा चुपचाप सहेर बस्न भन्दा गाह्रो अदालत धाउनुमा छ । हरेक दिन यो भयो र उ भयो भनिरहन दिक्दारी, मानसिक पीडा, कहिले त मनोबल नै सबै हराउँछ, फेरी सारा हिम्मत जुटाउँछु र अदालतको बाटो लाग्छु ।’
पहिला एउटै विकल्प सम्बन्ध विच्छेद गरे दुईटा सन्तान मज्जाले पाल्न सक्छु भन्ने लाग्यो उहाँले भन्नुभयाे – ‘श्रीमानले दिनहुँ रक्सि पिएर मरणासन्न हुने गरि पिट्थे, बालबच्चाहरु समेत वास्ता नगर्ने, दिनरात झगडा गर्ने, पोईला जा भन्ने, अर्कासँग बात लगाउने जस्ता झन्झटबाट मुक्ति पाउन मुद्दा हालेर सम्बन्ध विच्छेद त गरियो तर त्यसबेला भएका सम्झौताहरु पूरा नहुँदा अदालत धाउँदा झन पिडाबोध भईरहने रैछ ।
सम्बन्धविच्छेद पश्चात् आमाको साथमा अदालत आईपुगेकि उनले अदालतको परिसरमा आफ्नो पीडा पोखिरहिन् । समस्यामा परेपछि समस्या निराकरणको लागि हामी अदालतको बाटो समाउछौं, अदालतले हामीलाई बिना झण्झट न्याय दिने गरोस् तब पो अदालतप्रति अझै सम्मान जाग्ने थियो ।’
घटना ‘ख’,
सात महिनाको गर्भ लिएर उहाँ सम्बन्ध विच्छेदको लागि अदालत आइपुग्नु भयो । जिल्ला कानुनी सहायता समितिको परिसरमा भेटिनु भएको उहाँले गर्भको बच्चा जन्मञ्जेल पनि श्रीमानसँग बस्न सक्ने अवस्था नभएको बताउनु भयो । आराम गर्नुपर्ने, पोषिलो तथा स्वास्थ्यबर्धक खाने कुरा खानु पर्ने बेलामा अदालतको ढोका ढकढक्याउन बाध्य भएको भन्दै उहाँले आफूमाथि चाँडै अदालतले न्याय दिलाउने आशा व्यक्त गर्नु भयो ।
कोरोना भाईरसको संक्रमणका कारण देशमा लकडाउन भएपछि सम्बन्ध विच्छेदको मुद्दा ह्वात्तै बढेका छन् । लकडाउनको समयमा अदालतहरु पनि बन्द भए, महिला हिंसाको घटनाहरु दर्तामा आएनन् तर, लकडाउन खुलेपछि महिला हिंसाको रुप देखिन थालेको छ । जिल्ला कानुन सहायत समितिकी अधिवक्ता अप्सरा बस्नेतका अनुसार अहिले उजुरीको दर बढेको छ ।
कामको शिलशिलामा छरिएर रहेका परिवार एकै छानामुनि हुँदा, काम नभई घरैमा बेरोजगारी बनेर बस्दा उब्जने मानसिक विचलन लगायतको सर्वत्र प्रभाव महिलामाथि परेको अधिवक्ता बस्नेतले बताउनु भयो । लकडाउनपछि अदालतहरु खुलेलगत्तै जिल्ला अदालतमा दैनिक ४/५ वटा मुद्दा सम्बन्ध विच्छेदका लागि नै दर्ता भएको जिल्ला अदालतले जनाएको छ ।
जिल्ला अदालत मकवानपुरको तथ्याङक अनुसार अदालतमा दर्ता भएका २ हजार ३५ मुद्दा मध्ये ५ सय ३१ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका हुन । ५ सय ३१ वटा मुद्दा मध्ये ३ सय ८० ओटा फैसाला भैसकेका छन भने अझै १ सय ५१ वटा सम्बन्ध विच्छेदका मुद्दा फर्स्यौट हुन बाँकी नै रहेका छन ।
धेरैजसो सम्बन्ध विच्छेका कारक तत्वहरुमा घरेलु हिंसा, श्रीमान अर्को केटीसँगको सम्बन्धमा रहनु नै भएको माईती नेपाल मकवानपुर संयोजक माया लामा बताउनुहुन्छ । त्यसैगरी पछिल्लो समय आजकल सम्पतिको लागि पनि सम्बन्ध विच्छेद हुने गरेको लामाले बताउनु भयो । सम्बन्ध विच्छेदका कारण सबैभन्दा बढि बालबालिकाहरुको स्याहार सुसारमा पर्ने गरेको छ । मेलमिलापमा सम्बन्ध विच्छेद भएको छ भने बच्चा कोसँग बस्ने राख्ने पहिले नै यकिन भैसकेको हुन्छ भने मेलमिलाप बाहेकका सम्बन्ध विच्छेदमा भने बालबालिकाहरुलाई परामर्श दिएर पठाउने गरेको पाईएको छ ।
मुलुकी संहितामा सम्बन्ध विच्छेदको दायरा फराकिलो बनाएसँगै अदालतमा यसबारे मुद्दाको चाप बढेको छ । श्रीमान श्रीमति सम्बन्ध विच्छेद गर्ने सवालमा आपसमा राजि भएर अदालत आउने हो भने, मुद्दाको किनारा पनि चाँडै लाग्ने गरेको छ । मिलेमतोमा भने आजकल धेरै सम्वन्धविच्छेद हुने गरेको उहाँको भनाई छ । यदि श्रीमतिले चाहेको खण्डमा कुनै पनि सम्पति नलिने सर्तमा तीन दिनमा सम्बन्ध विच्छेद हुने र यदि अंशवण्डाको केश भएमा भने एक वर्षसम्म मुद्दा लम्बिने गरेको लामाले बताउनु भयो ।
मुद्दाको सङख्या केहि वर्ष यता बढ्दो
मकवानपुर जिल्ला अदालतमा केहि वर्ष यता मुद्दा चापमा बृद्धि हुन थालेको छ । गत आर्थिक वर्षमा कोभिड १९ का कारण बन्दाबन्दि हुनुपुर्व अघिल्ला आर्थिक बर्षको सोहि अबधिको भन्दा धेरै मुद्धा दर्ता भएको मकवानपुर जिल्ला अदालतका श्रेष्तेदार तिर्थराज भट्टराईले बताउनु भयो । आर्थिक वर्ष ०७४।०७५ मा मकवानपुरमा एक हजार ३ सय ३५ वटा मुद्दा दर्ता भएका थिए । यस्तै ०७५।०७६ मा १ हजार ४ सय १९ वटा मुद्दा दर्ता भएका थिए भने गत आर्थिक वर्षमा बन्दाबन्दि भन्दा अगावै १ हजार १ सय ४८ वटा मुद्दा दर्ता भएको श्रेष्तेदार भट्टराइले बताउनु भयो । गत आर्थिक वर्षमा ७० प्रतिशत भन्दा माथि मुद्दा फर्स्यौट गर्ने लक्ष्य भए पनि बन्दाबन्दिका कारण काम प्रभाबित भएको उहाँको भनाइ छ ।
एक वर्ष भित्रै मुद्दा फर्स्यौट गरिसक्ने तयारी
जिल्ला अदालत मकवानपुरमा ११ वटा मुद्दा दुइ वर्षसम्म फर्स्यौट हुन सकेका छैनन । कतिपय मुद्दाहरुमा बादी प्रतिबादि उपस्थित नहुने, प्रतिबादि फरार रहने विभिन्न जग्गा सम्बन्धी मुद्दामा फिल्ड भ्रमण गर्नु पर्ने लगायतका कारण मुद्दाहरु धेरै समय सम्म रहेको भट्टराईले बताउनु भयो । अब चालु आर्थिक वर्षबाट भने एक वर्ष भित्रमा नै सबै मुद्दा फैसाला हुने गरि योजना बनाइएको उहाँको भनाइ छ ।
५५ प्रतिशतभन्दा धेरै मुद्दा फैसाला
गत आर्थिक वर्षमा मकवानपुरमा ५ सय ३१ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्षमा जिल्ला अदालत मकवानपुरमा १ हजार १ सय ४८ वटा मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष २०७५।०७६ का ८ सय ८७ वटा मुद्दा जिम्मेवारी सरेर गत आर्थिक वर्षमा आउदा कुल २ हजार ३५ वटा मुद्दा भएका थिए ।
२ हजार ३५ वटा मुद्दा मध्ये १ हजार १ सय २१ वटा मुद्दाको अन्तिम किनारा लागिसकेको जिल्ला अदालत मकवानपुरका श्रेष्तेदार भट्टराइले बताउनु भयो । ९ सय २१ ओटा मुद्दा भने चालु आर्थिक बर्षमा सरेका छन् । गत आर्थिक वर्षमा १ सय ९६ वटा लागु औषध,६१ वटा जबरजस्ती करणी, ७४ वटा सवारी ज्यान सम्बन्धी मुद्दाहरु दर्ता भएका थिए ।