मकवानपुर / जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गर्ने १५ जना सवारी चालकहरू नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । पछिल्लो समय थप ४ जना सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिप्रका मकवानपुरका अनुसार नियन्त्रणमा लिइएको सवारी साधनका चालकहरूलाई सार्वजनिक हित र नैतिकता विरूद्धको कसुरमा मुद्दा दायर गरी थप अनुसन्धान जारी राखिएको हो । प्रहरीका अनुसार साउन १४ गते राति हेटौंडा उपमहानगरपालिका–१९ स्थित ईलाका प्रहरी कार्यालय नेवारपानीको प्रहरी चेक पोष्ट तथा हेटौंडा उपमहानगरपालिका–८ स्थित ईलाका प्रहरी कार्यालय पशुपतीनगरको प्रहरी चेकपोस्टमा चेकजाँच गर्ने क्रममा प्रहरीलाई आर्थिक प्रलोभनमा पारेको आरोपमा ४ जनालाई नियन्त्रणमा लिइएको छ ।
सुरक्षा मापदण्ड विपरीत राँगा, भैसी लोड गरी ल्याउदै गरेकोले आवश्यक कागजात पु-याएर मात्र लैजान सम्झाई बुझाई गर्दा सवारी चालकले आफ्नो कमजोरी ढाकछोप गर्न अनुरोध गर्दै ड्युटीमा खटिएका प्रहरी कर्मचारीहरुलाई आर्थिक प्रलोभन देखाइएको प्रहरीको दावि छ ।
प्रहरीका अनुसार ना. ७ ख ६२२४ नं. को आईचर ट्रकको चालक पर्सा जिल्ला विरगंज महानगरपालिका–३२ बस्ने ३३ वर्षिय नसुरदिन अन्सारी, ना ४ च ८३९४ नं. को पिकअप गाडीको चालक बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–४ भेलही बस्ने २१ वर्षिय गुलाम अन्सारी, ना ६ ख ५६३६ नं. को ट्रकको चालक बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–३२ बस्ने ३४ वर्षिय लाल अन्सारी र ना ६ ख ९४७ नं. को ट्रकको चालक सर्लाही जिल्ला बरहथवा नगरपालिका–९ मुर्तिया बस्ने २३ वर्षिय अरूण महतोलाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवत्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताउनु भयो ।