मकवानपुर / बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राध्यापक डाक्टर बिश्वराज जोशी (बी आर जोशी ) लाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको प्रदेशको मन्त्री परीषदको बैठकले जोशीलाई ४ वर्षका लागि प्रदेशले स्थापना गरेको प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि वीर अस्पतालमा नेसनल एकेडेमी अफ मेडिकल साईन्सको रजिस्ट्रार, वीर अस्पतालमा नै युरोलोजिष्ट प्रमुख समेत रहनुभएका जोशीले सन १९७४ मा एम डी र १९८३ मा डाक्टर उपाधी हासिल गर्नुभएको छ । उपकुलपति नियुक्तीसँगै प्रतिष्ठान सञ्चालनका कार्यहरु अगाडि बढ्ने सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो ।
यसै गरी प्रदेश सरकारले प्रदेश बालअधिकार समितिमा पनि सदस्यहरू नियुक्त गरेको छ । समितिमा बाल अधिकारको क्षेत्रमा सक्रिय सिविन बाल हेल्प लाइनका प्रमुख झबिन्द्र ज्ञवाली,अधिकारकर्मीहरु शान्ता बराल, शान्ति श्रेष्ठ, मिना थापा र लक्ष्मी ढकाललाई मनोनीत गरिएको छ । उनीहरुको कार्यकाल पनि ४ वर्षको हुनेछ ।
यसैगरी प्रदेश युवा परिषद नियमावली २०७७ स्वीकृत गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिनुभयो । यस्तै वैदेशिक सहयोग प्राप्ति र कर छुटका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।