मकवानपुर / बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १४ जना, धादिङमा ७ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै यस प्रदेशमा १ हजार १२ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशको रसुवा जिल्लाका सबै (११ जना) कोरोना संक्रमितहरु निको भएर घर फर्केका छन् भने यस जिल्लामा पछिल्ला २४ घण्टामा नयाँ संक्रमित भेटिएको छैनन् । यसप्रदेशको रसुवा जिल्ला हाल कोरोना मुक्त जिल्ला रहेको मन्त्रालयले जनाएको छ । यद्यपि कोरोना संक्रमणको जाखिम भने सबै जिल्लामा उत्तिकै रहेको छ । हालसम्म प्रदेशको काठमाडौंका ३ सय ५१, ललितपुरका ८९, भक्तपुरका ५३, नुवाकोटका ३८, धादिङ १ सय ३७, चितवन १ सय २२,सिन्धुली २४,मकवानपुर ४६, रामेछाप ३६, दोलखा १०, काभ्रेपलाञ्चोक २२ र सिन्धुपाल्चोकका ७३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
कोरोनाको कारण देशभर ४९ नाको मृत्यु भएकोमा यस प्रदेशको १० जना रहेको मन्त्रालयका प्रवक्ता डा. पुरुशोतम राज सेढाईंले बताउनु भयो । हाल यस प्रदेशमा २ सय ९३ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । यसैगरी होम क्वारेण्टाइनमा रहेकाहरुको संख्या १ हजार ५ सय ५८ रहेको छ । प्रदेशमा हालसम्म ३६ हजार ९ सय २० जनामा आरडीटि प्रविधिबाट तथा ३० हजार ८ सय ८३ जनामा पीसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
यस प्रदेशका संक्रमित मध्ये ५ सय १८ जना उपचारपछि निको भएर घर फर्केका छन् । बालबालिका, वृद्धवृद्धा तथा विभिन्न रोगले ग्रसितहरुलाई कोरोना संक्रमणको संभावना उच्च हुने भएकोले यो वर्गकाहरुलाई विशेष स्वास्थ्य सावधानि आवश्यक हुने स्वास्थ्यकर्मीको सुझाव छ ।