
‘हरेक वर्ष वर्षा आउँछ, जान्छ, मेरो रोजिरोटि यहि घन ठोकेर आ’को पैसाले ८ जनाको परिवार पाल्यो बस्यो, सँधैभरि बर्षासँगै आउने रमितेहरुले घाउमा नुनचुक छरेझै आभाष हुन्छ मानसिं विक मुटुमा गाँठो पार्दै भन्छन् ।
बाढी त आउँछ, यो प्राकृतिक हो यसप्रति केही गुनासो छैन । तर सरकारी कर्मचारीदेखि जनप्रतिनिधि र रमितेहरु अरु बेला बोल्दैनन् । बर्षा याममा आएर सोध्छन किन यस्तो ठाउँमा घर बनाको ? उत्तर के दिनु बाउ बाजेले आएर किनिदिएका ठाउँ । घामदेखि टाउको लुकाउने ओत छ, तर हावा हुरि र वर्षा सहन सक्दैन यो छानोले । त्यसैले पनि यहाँ घर किन बनाको भन्ने प्रश्न म सहन सक्दिँन ।’
दोलखा चरिकोट नजिक पुख्र्यौली घर भएका मानसिं भन्छन उता भा भएनि अहिले पहिरोले पुरिन्थ्यौ होला यता बजार क्षेत्र कै पानी बगेर आउने कुलोले सताउँछ ।
हेटौडा बजार क्षेत्रका वडा नं ३, ४, ५ को सम्पुर्ण पानी बगेर आउने भलका कारण मानसिंको घर सहित करिव ६०/७० घर प्राय डुवानमा पर्छन् यो क्षेत्रमा । प्लटिङ गर्नेहरुले उक्त भल बग्ने क्षेत्र साघुरो बनाउदै लगेका छन् । जसले समस्यामा पारेका छन उनीहरुले नै आएर किन घर यहाँ बनाएको भनेर सोध्नु भन्दा ढल व्यवस्थापन गर्दा के जान्थ्यो र ? मानसिंको मनमा तर्कना आउँछ, मुख फोरेर बोल्दैनन्, सहन्छन् बस्छन् ।
राहतको नाममा एक पोका नुन तेल पाँच किलो चामलले कति दिन खाउला र हामी आठ जनाको परिवार ? यसो त कोरोना भाईरसको महामारीका कारण झन् हसिया कुटो कोदालो अर्चाप्नेहरु पनि आउन छाडे पछि उनीलाई छाक टार्न मुस्किल छ । तीन छोराहरुले गतिलो काम पाएको भए सहजै छाक टथ्र्यो, त्यो पनि छैन । उनी भन्छन् ‘सरकारले रोजगारि दिनुपर्याे कि त भरोसा दिनसक्नुपर्याे विकासका काम गरेर ।’
मानसिं जस्तै पिडामा छन शेख मुवारक । पाँच दशकदेखि हेटौडामै कोठा भाडामा बसेका मुवारक छोरा छोरी नाति नातिना बढेसंगै कोठामा बस्न सक्ने वातावरण रहेन, खर्चले धानेन । अनि बसाइ बनाए कर्रा करिडोर टोलमा । ऋण धन गरेर जग्गा त जोडे यसै वर्षको गर्दोइर कर्रा खोलाको बाढीले सातो लियो ।

जेठको पहिलो साता तिर नै उनी नगरपालिका प्रमुख हरिवहादुर महत र ४ नं वडा कार्यालय चहारिरहे कतै बाँध बाँधिदिन्छन कि भन्दै तर दुई महिना बित्यो न बाँध बाँधियो, न त जनप्रतिनिधिहरुले चासो देखाए । ‘उल्टै आउँछन किन घर बनाको भनेर कराउँछन’ उनको गुनासो छ । जग्गा व्यवसायिलाई प्लटिङ् गर्दा स्वीकृति दिने, अनि हामीलाई घर किन बनाएको भन्ने, कस्तो राजनीति हो यो ?’ उनले प्रश्न गरे ।
हामिलाई बेच्नेले बाढी आउँछ भनेन बाटो बत्ति पानी विस्तारीत गरुञ्जेल यो ठाउँमा बस्ति लायक छैन भनेर किन भन्दैन स्थानिय तह ? उन्को प्रश्न र गुनासो सकिने नाम लिदैन तर नगरपालिकाले बाँध बाँध्नका लागि उनलाई चार वटा तार जालि र ढुंगा किन्न पैसा दियो । बाँध बाँध्न र तारजालि समेत बिच्छ्याउन समेत न प्राविधिक पठाएयो न त अब सम्भव नै । वर्षाको मध्ये अवस्था छ खोलाको छेउमा तारजालि लगाउन असम्भव नै छैन । ‘मरेपछिको औषधि के काम’ उनले भने, ‘हामी सामान्य वर्गकालाई सबैले हेप्ने मात्रै,अरुको गल्तिको मारमा हामी पर्छौ, फेरी दोष हामीलाई नै लगाउँछन् ।
हेटौडा उपमहानगरपालिकाको यहि ४,५ र ११ नं वडाका केही भुभाग मात्र डुवानमा पर्छन् । वडा ४, र ५ को करिडोर टोल र शान्ति नगर डुवानमा पर्ने कारण नै बजार क्षेत्रको पानीको उचित व्यवस्थापन नहुनु हो । गर्दोइखोला पहिला धेरै फराकिलो भए पनि हाल मान्छेको सोच झै साघुरिदै गएको छ भन्छन हेटौडा ४ का हरिप्रसाद वस्ति । कर्रा खोलाले आफ्नो बाटो छोडेर व्यक्तिको जग्गामा प्रवेश गरेदेखि धेरैपटक खोला व्यवस्थापनका लागि बजेट आयो तर काम कहिल्यै गतिलो भएन । उनीमात्र होइन कर्रा खोलाका कारण यस वडाको गर्दोई क्षेत्र डुबान र कटानको उच्च जोखिममा छ । वडाध्यक्ष नबिन सिग्देलका अनुसार यहाँका करिब २० घर परिवार यसरी त्रासमा रात कटाउन बाध्य छन् ।
खोला छेउमै घर बनाई बसेकाले यहाँका ती परिवार उच्च जोखिममा रहेको र वडाले जाली उपलब्ध गराउने बाहेक तत्काल अरु केही गर्न नसक्ने वडाध्यक्ष सिग्देलको भनाई छ । मकवानपुरमा आर्थिक वर्ष २०७६/०७७ मा विपद्का कारण मात्रै १५ जनाले ज्यान गुमाएका छन् ।

जसमध्ये सबैभन्दा बढी अर्थात् ९ जनाको बाढी पहिरोको कारण ज्यान गएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रवक्ता देवचन्द्र गर्तौलाले बताए । उनका अनुसार ६ जनाको चट्याङका कारण मृत्यु भएको तथ्यांक छ । पहिरोका कारण जिल्लाका ४२ घरपरिवारले घरबारबिहीन हुनुपरेको थियो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्राकृतिक विपद्का कारण हुनसक्ने सम्भावित क्षति न्यूनिकरणको लागि विपद्को प्रकृति अनुसारका तयारीहरु गरेको जनाएको छ । कार्यालयले बाढी पहिरोको उच्च जोखिमलाई ध्यान दिई कार्ययोजना बनाएर लागु गरेको प्रवक्ता गर्तौलाले बताए । प्रभावित क्षेत्रमा अर्लट गर्ने, घटना भैहाले उद्दार तथा राहतको क्षेत्रमा गर्नुपर्ने जस्ता आवश्यक तयारीहरु सबै स्थानीय तहहरु मार्फत गरिएको उल्लेख छ ।

विपद्का घटना न्यूनीकरणका लागि जिल्लामा आपतकालीन कार्य सम्पादन केन्द्र स्थापनाको तयारी अन्तिम चरणमा पुगेको पनि प्रशासनका प्रवक्ता गर्तौलाले जानकारी दिए ।