हेटौंडा / बागमती प्रदेशमा आर्थिक वर्ष २०७६/०७७ मा निर्माण सम्पन्न भएका पुलहरुको एकैसाथ उद्घाटन गरिएको छ । गत आर्थिक वर्षमा निर्माण भएका ७३ करोड ६७ लाख बराबरको ३१ वटा पुल प्रदेशको मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका हुन् ।
मकवानपुरको कैलाश गाउँपालिका–१० स्थित दुबोखोलामा निर्माण भएको २५ मिटर लामो
पुल समेत गरी प्रदेशको विभिन्न जिल्लामा रहेका पुलहरुको उद्घाटन गरिएको हो । मुख्यमन्त्री पौडेलले भौतिक पुर्वाधार विकास मन्त्रालयको कार्यकक्षबाट कैलाश गाउँपालिकाका अध्यक्ष सहितका प्रतिनिधिहरुलाई टेलिफोन मार्फत पुलको उद्घाटन गरेका थिए । दुबोखोलामा पुल निर्माण निर्माण गर्न प्रदेश सरकार अन्र्तगत पुर्वाधार विकास कार्यालय चितवनबाट २ करोड ५१ लाख ७३ हजार लगानी भएको थियो ।
पुलबाट कैलाश गाउँपालिकाको भैसेंचौर, कालिकाटार, भार्ता, खैराङका स्थानीयहरुलाई आफनो दैनिकी सामान, उत्पादित वस्तु, ल्याउन लान सडक सुविधा पुगेको छ ।
उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले पुर्वाधारको विकासमा देखिने गरी काम भइरहेको दावि गरे । ४४ वटा भन्दा बढी बहुवर्षिय योजनाको सडक यस आर्थिक वर्षमा निर्माण गर्ने लक्ष्य राखिएको उनले बताए ।
भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले हाल सम्पन्न ३२ वटा पुल सहित आगामी वर्षभित्र १ सय वटा पुल निर्माण सम्पन्न गर्ने र झोलुङगे पुल निर्माण गर्न स्थानिय तहलाई जिम्मा दिइने बताए । बागमती प्रदेश भरमा काठमाडौं, धादिङ, सिन्धुली, भक्तपुर,रामेछाप जिल्लामा निर्माण सम्पन्न भएका १/१ वटा, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक जिल्लाको ५/५ वटा, दोलखा,चितवन, नुवाकोट जिल्लाको ३/३ वटा, मकवानपुर जिल्लाको २ वटा, गरी ३२ पुलको उद्घाटन गरिएको हो ।
३१ वटा पुलको कुल लम्बाई ९ सय ९२ मिटर रहेको र कुल लागत ७३ करोड ६७ लाख ४३ हजार रहेको मन्त्रालयका सचिव तेजराज भट्टले बताए । सम्पन्न भएका पुलहरुमा स्टिल ट्रस २ वटा, सस्पेन्सन २ वटा, स्टिल प्लेट गर्डर ४ वटा, आरसिसि बिम १७ र आर सिसि बक्स ७ वटा निर्माण गरिएको हो । बागमती प्रदेश भित्र २४ वटा ठुला राजमार्ग छन् जसमा २ हजार ४ सय १३ किलोमिटर पर्छन भने प्रदेश स्तरीय ४ हजार ६ सय ९६ किलोमिटर (२ सय २ मार्ग) छन् । यस्तै स्थानीय सडहरु २० हजार किलोमिटर रहेका छन् ।