९ वर्ष अगाडि आज कै दिनबाट सहीखबर साप्ताहिकको प्रकाशन आरम्भ गरेका थियौ । आज सोही अवसरमा हामी अनलाईनको रुपमा आएका छौ । प्रविधिको युगसँगै यहाँहरुको हात हातमा रहेको मोबालमा पनि अब हामीले यहाँहरुलाई समाचार, सूचना, जानकारी मनोरञ्जन पस्कन सक्ने छौ ।
यहाँहरुलाई यो खबर सुनाउन पाउँदा औधि खुशी लागेको छ । आमसञ्चारलाई चुनौतिपूर्ण पेशा हो भन्दै र यसमा रमाउँदै रमाउदै हामी नवौं वर्षमा प्रवेश गरेका छौ । रहरै रहरमा प्रकाशन प्रारम्भ गर्ने र बाध्यता/ बिडम्बनाको भूमरीमा बन्द हुने पत्रिकाहरुको भीडमा सहीखबरसाप्ताहिकले आफुलाई ज्युँदो राख्न सफल भएको छ, र जिम्मेवारी पूर्णरुपमा निर्वाह गर्दै आएको छ । मोफसलमा जन्मेको यो पत्रिकालाई आजको अवस्थासम्म आइपुग्न जिल्लाबासी कै अथाह योगदान रहेको कुरा हरपल मनन गरिरहेका छौं ।
प्रकाशन सुरु गरेदेखि नै राजनीतिक विषय वस्तुलाई भन्दा सामाजिक विषय वस्तुलाई प्राथमिकतामा राख्दै आएका छौं । समतामुलक समाज निर्माण, महिला सशक्तिकरण, महिला अधिकार, सामाजिक न्याय, मानव अधिकार, बाल अधिकार, समाजको सकारात्मक रुपान्तरणमा जस्ता क्षेत्रमा आम सञ्चारको तर्फबाट झकझक्याउने हाम्रो अभियान जारी छ ।
जनताको सुशुचित हुने अधिकारका खातिर लागि पर्न जनताले नै सघाइरहेका छन् हामीलाई, आशा छ आगामीपलमा पनि यस्तै साथ मिल्ने छ । यही विश्वासका साथ आगामी यात्रामा पनि विगतको जस्तै सहकार्यको अपेक्षा गर्दछौं । संघीय लोकातान्त्रिक अभ्यासमा छौ, अझै धेरै चुनौतिहरु सामना गर्नुछ, जनताको घरदैलोमा लोकतान्त्रको आभाष हुनेगरी जनप्रतिनिधिले काम गरे नगरेको खबरदारी गर्नमा हामी सदैव जनताको पक्षमा उभिने छौ । हामीलाई यसैगरी बल निरन्तर मिल्नेछ भन्ने आशा गरेका छौं ।
यस साप्ताहिकले आफ्नो प्रकाशन सुरु गरेको ७ वर्ष पुरा भएसँगै आकारमा वृद्धि गरेका थियौं, ८ वर्ष पुरा भएसँगै आजबाट हामीले अनलाईन संस्करण पनि सुरु गरेका छौ । अब साप्ताहिक रुपमा मात्रै नभई हरपल यहाँहरुलाई अनलाई मार्फत पनि सूचना, जानकारीमा पस्कने छौं ।
यो सुखद अवसरमा हामी हाम्रा आदरणिय सहयोगी मनहरु, विज्ञापन दाताहरु, पाठक वर्गहरु, हामीसँग प्रत्यक्ष/परोक्ष रुपमा जोडिनु भएका हाम्रो असाध्यै प्रिय शुभचिन्तकहरु, जिल्ला भित्र तथा जिल्ला बाहिर रहेर हाम्रो यात्राको होस्टेमा हैसें गरी सहयोग दिनुहुने अग्रज तथा समकक्षि सञ्चारकर्मीहरु सबैप्रति हार्दिक आभारी छौ । आगामी यात्रामा पनि यहाँहरुको यस्तै अमिट सहयोगको अपेक्षा सहित हार्दिक धन्यवाद व्यक्त गर्दछौ । सबैमा हार्दिक आभार ।