हेटौंडा । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३८ औं स्मृति दिवसमा मंगलबार नेपाली कांग्रेस मकवानपुरले रक्तदान कार्यक्रम गरेको छ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले ब्लड ब्याग दिएर उद्घाटन गर्नुभएको कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए ।
जननायक बीपी कोइरालाको स्मृति दिवसमा आयोजित रक्तदान कार्यक्रममा नेकपाका जिल्ला सल्लाहकार रामचन्द्र कार्की र प्राध्यापक दीपेश खड्की नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । नवप्रवेशीलाई कांग्रेस केन्द्रीय सदस्य डिना र कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँले सदस्यता दिंदै खाँदा तथा टिका लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।
बीपीको १९७१ साल भदौ २४ गते भारतको वनारसमा जन्म भएको थियो भने २०३९ साल साउन ६ गते क्यान्सरबाट निधन भएको थियो । जीवनभर प्रजातन्त्रका लागि लडेका बीपी शालीन, सुझबुझ र गम्भीर चिन्तन, अदम्य साहसी नेता थिए । उनी भारतीय स्वतन्त्रता आन्दोलनमासमेत सहभागी भई भारतीय नेताहरूसँगै जेल परेका थिए ।
नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने बीपी तत्कालीन नेपालमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक व्यक्तित्वका रूपमा समेत चिनिन्थे । २०३४ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्किएका बीपीले त्यसपछि भने सम्पूर्ण राजनीतिक दलको नेता बन्ने अवसर पाए ।
कार्यक्रममा कांग्रेस बागमती प्रदेश संसदीय दलकी प्रमूख सचेतक राधा घले, कांग्रेस मकवानपुरका प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, जिल्ला सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकार उमा दाहाल, भरत पुराजुली प्रवक्ता प्रदिप कोइराला, थाहा नगरका उपमेयर एवं जिल्ला सदस्य खड्ग गोपाली, हेटौ.डा उपमहानगर सभापति आनन्दराम पराजुली, बकैया गाउँपालिका प्रमूख दामोदर खनाललगायत जिल्ला कार्यसमितिका सदस्यहरु, भातृ तथा शुभेच्छुक संघसंस्थाका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।