हेटौंडा । बागमती प्रदेश सरकारले ३४ कानुन संशोधन गर्ने प्रस्ताव गरेको छ । शुक्रबारको प्रदेश सभा वैठकमा प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले ३४ कानुन संसोधन गर्ने गरी प्रस्ताव गरेका हुन् ।
मन्त्री जम्मकट्टेलले प्रचलित तथा तर्जुमा भएका कानुनहरुलाई समसमायिक सुधार गर्ने भन्दै संशोधनको प्रस्ताव गरेका हुन् । उक्त प्रस्ताव माथिको सैद्धान्तिक छलफल सुरु भएको छ । संशोधन विधेयकको सैद्धान्तिक छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित विपक्षी दलका सांसदहरुले विरोध गरेका थिए ।
यस्तै शुक्रबार नै बागमती प्रदेशसभाको बैठकमा ४ वटा नयाँ विधेयक पेस भएका छन् । वातावरण संरक्षण सम्बन्धी विधेयक, आर्थिक कार्यविधि ऐन संशोधन गर्न बनेको विधेयक, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको नयाँ विधेयक प्रदेशसभा पेस भएको हो ।