हेटौंडा÷बागमती प्रदेशकोे विनियोजित बजेट माथि छलफल सुरु भएको छ । प्रदेशकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले छलफल सुरु गर्न प्रस्ताव पेश गरेपछि प्रदेश सभामा छलफल भएको हो ।
विनियोजन विधेयक माथि मंगलबार नेकपाका १२ जना सांसद र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सहितले अन्य दलले ८ जना सांसदले बोल्ने भन्दै कार्यव्यवस्थामा छलफल भएको थियो तर बजेटको छलफलमा बोल्न भने ५ जनाको मात्रै नाम बोलाइएको थियो । त्यसमध्ये नेकपाकी सांसद मुनु सिग्देल अनुपस्थित भईन भने अन्य ४ सांसदहरुले बोलेका थिए। छलफलमा बोलेका सत्तापक्षका सांसदहरुले पनि असन्तुष्ट व्यक्त गरेका छन् । नेकपाका सांसद हिरानाथ खतिवडाले सरकारले बजेट ल्याउँदा बजेट कार्यान्वयन हुने क्षेत्रको अवस्था विश्लेषण नगरी ल्याएको आरोप लगाए । उनले बजेट नसच्याउने भए छलफलको अर्थ नरहने र सरकार नसुध्रे समर्थन गर्न नसक्ने समेत बताएका छन् । यस्तै नेकपाका सांसद सुरेश नेपालले बजेट प्रष्ट ढंगले आएको बताए । उनले विरोधको लागि विरोध गर्न नहुने भन्दै सर्वसम्मत ढंगले विधेयक पास गर्न सबै लाग्नु पर्ने तर्क गरेका थिए । उनले यातायात क्षेत्रको राजश्व चुहावट रोक्न बजेटको भुमिका खेल्ने तर्क गरेका थिए ।
नेकपाकी सांसद सिता लामाले प्रदेश सरकार श्रम र श्रमिकको सरकार हुनुपर्ने बताउँदै शहरको विकल्प गाउँ बनाउनु पर्ने बताईन् । नेकपाकै सांसद प्रदिप कुमार कटुवाल क्षेत्री केसिले भने सरकारको बचाउमा बोलेका थिए । प्रतिपक्षको आरोपै आरोप प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद सहित अन्य विपक्षी दलका सांसदले विनियोजित बजेटमा आरोपै आरोप लगाएका छन् । कांग्रेसका सांसदहरुले मन्त्रीमुखी बजेट भएको भन्दै आलोचना गरेका हुन् ।
नेपाली कांग्रेसकी सांसद जीवन डंगोल लेबजेट सत्तापक्षको लागि मात्रै आएको भन्दै असन्तुष्टी व्यक्त गरेकी हुन् । नेपाली कांग्रेसका सांसद प्रभात तामाङ कार्यकर्तादेखि वडाध्यक्ष सम्मलाई पैसा बाँड्न भ्याएको बताए । तामाङले किताबको पानाको संख्या बढेको भन्दै प्रगतीशिलको व्यङ्ग्य गरेका थिए । उनले मन्त्रीहरु वडाध्यक्ष भन्दा सानो हैसियतमा देखिएको बताउँदै आफ्नो निर्वाचन क्षेत्रको वडा र टोलसम्म बजेट हालेर फेसबुक रंग्याउने काम भएको बताएका थिए । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाललाई व्यङ्ग्य गर्दै मिल्ने भए आफ्नो शालिक बनाउन मात्रै बाँकी भएको तर्क गरेका हुन् ।
राप्रपा प्रजातान्त्रिकी रिना गुरुङ सासंदले कोरोनालाई विर्सेर बजेट आएको बताईन् । उनले प्रदेश सरकारले क्वारेन्टाईन र आईसोलेसन व्यवस्थापन तथा उपचारमा उपयुक्त बजेट विनियोजन नभएको बताईन् । यस्तै विवेकशील साझा पार्टी, नेमकिपाका सांसदहरुले पनि सरकारले ल्याएको बजेटको विरोध गरेका छन् ।
संसदीय दलमा पनि विरोध
नेकपा बागमती प्रदेश संसदीय दलमा पनि विनियोजन विधेयक माथि भएको छलफलमा बोल्दै सांसदहरुले विरोध जनाएका छन् । केही सांसदहरुले बजेट पुर्णरुपमा असमर्थन गर्ने समेत बताएका थिए । सांसदहरुले योजना अपहरण भएको भन्दै मुख्यमन्त्री सहित मन्त्रीहरुको विरोध गरेका हुन् । मुख्यमन्त्री र सिमित मन्त्रीको मात्रै योजना परेको र सांसदहरुको योजना मन्त्रालयको कार्यक्रम विवरण पुस्तिकामा नपरेको भन्दै संसदीय दलको बैठकमा आक्रोश पोखेको सहभागी एक सांसदले बताए ।